रामेछाप । बस दुर्घटनामा परेर ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै रामेछापका विभिन्न स्थानमा बुधबार विहानै देखि सडक अवरुद्ध गरेका छन् ।

रामेछापको मन्थली नगरपालिका २ को मन्थली पुल नजिकै र लिखु तामाकोशी गाउँपालिका ७ को हलेदेमा सडक अवरुद्ध गरीएको छ । दुर्घटनामा परेका व्यक्तिहरुलाई तत्काल उचित क्षतिपूर्ति माग गर्दै उनीहरुले अरनीको यातायात समिति अन्तरगतका मात्र नभै सवै यातायात ठप्प पारेका छन् ।

मंगलबार काठमाडांै बाट रामेछाप हुदै ओखलढुंगाको पोल्थलीका लागि छुटेको पूर्व अरनिको यातायातका यात्रुबाहक बस मन्थली नगरपालिका ६ मा पर्ने लिलौतिको भिरबाट खस्दा १२ जनाको मृत्यू भएको थियो । उक्त दुर्घटनामा परेर ८ जना घाईते र २ जना वेपत्ता रहेका छन् । दुर्घटना भएको बस तामाकोशीमा पुगेको थियो । वेपत्ता भएकाहरु नदीमा वगेको आशंका गरिएको छ । दुवैको खोजि कार्य परिवार र प्रहरीले गरिरहेका छन् ।

यसैविच मृतकहरुको सव यातायात व्यवसायी संग सहमति हुन नसकेकाले पोष्टमार्टम भएको छैन् । सवै शवहरु मन्थली अस्पतामा राखिएको छ । दुर्घटना भएको पूर्व अरनीको यातायात समितिका पदाधिकारी आउनु पर्ने माग मृतकका आफन्तले गरेपनि समितिको आधिकारीक पदाधिकारी बुधबार मध्यान्ह सम्म आईपुगेका छैैनन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार हलेदेमा अवरुद्ध भएको सडक खुलाउन ईलाका प्रहरी कार्यालय धोवि बाट प्रहरी निरीक्षक सहितका सुरक्षाकर्मीले पहल गरिरहेका छन् । मन्थलीमा अवरुद्ध भएको सडक खुलाउनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिमिल्सिनाको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

दुर्घटनामा आफन्त गुमाएका आक्रोशित परिवारजनले सडक अवरुद्ध गरेपछि रामेछापबाट ग्रामिण क्षेत्रमा जाने यातायातका साधन चलेका छैनन् । अरनीको यातायातले भने बुधबारका सवै क्यू मिस गरेको जनाएको छ । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रमा भने यातायातको साधन संचालन भइरहेको जनाएको छ ।