रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ लिलितिको भीरमा मंगलबार विहान भएको बस दुर्घटनामा परेर मृत्यू हुनेको संख्या १२ पुगेको छ । उक्त दुर्घटनामा ८ जना घाईते भएका छन् । प्रहरीले अझै केहि वेपत्ता भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतकहरुको शव पोष्टमार्टमका लागि मन्थली अस्पतालमा मंगलबार अपरान्हनै पु¥याएको र अस्पतालले पहिचान खुलेका मृतकको पोष्टमार्टम समेत गर्न थालेको छ । प्रहरीका अनुसार मृतक मध्ये १० जनाको सनाखत भएको छ । अस्पतालमा रहेका २ जनाको सव पहिचान हुन सकेको छैन् ।
प्रहरीका अनुसार मृत्यू हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङको एकै परिवारका ४ जना रहेका छन् । उनीहरु विवाह कार्यक्रमका लागि घर आउदै थिए । सो वडाका भिमवहादुर तामाङ, जानुमाया तामाङ, तारा तामाङ र रमिता तामाङ रहेका छन् । त्यसैगरी बस मालिक लिखु तामाकोशी ४ कोटगाउँमा दिपेन्द्र वस्नेतको पनि मृत्यू भएको छ । बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी लिखु तामाकोशी गाउँपालिकाको संगठन विभागका प्रमुख रहेका थिए । वस्नेत बैदेशिक रोगजारबाट फर्केपछि वस व्यवसायमा संम्लग्न थिए ।
त्यसैगरी अन्य मृतकहरुमा लिखु तामाकोशी गाउँपालिका ६ का दिपेश वस्नेत रहेका छन् । दोलखाको भिमेश्वर नगरपालिका ७ की बवि तामाङ, दोलखाको भिमेश्वर नगरपालिका ८ का मानवहादुर तामाङ समेतको दुर्घटनामा मृत्यू भएको छ । अन्य मृतकहरुमा लिखु तामाकोशी ६ खिम्तीका मानवहादुर बरुवाल र सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका ६ का शिव श्रेष्ठ रहेका छन् ।
काठमाडौंबाट रामेछापको सिरीसे ढाँडे हुदै ओखलढुंगाको पोल्थली तर्फ जादै गरेको पूर्व अरनीको यातायात सेवा समितिको यात्रुबाहक बस मंगलबार विहान करिव साँढे १० बजे दुर्घटनामा परेको थियो । काठमाडौंबाट ८ जना यात्रु बोकेर छुटेको उक्त बसले विचमा यात्रु थपेको थियो । थपिएका यात्रुको एकिन विवरण उल्लेख छैन् । उक्त बसका चालकलाई घाईते अवस्थामा तामाकोशी अस्पतालमा उपचारार्थ भर्ना गरि प्राथमिक उपचार पश्चात जिल्ला प्रहरी कार्यालय रामेछापमा राखिएको छ । घाईते हरुलाई उपचारका लागि धुलिखेल अस्पताल तर्फ पठाइएको छ । घाईते मध्ये केहिको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
