रामेछाप । गत बर्ष सुनकोशी नदीमा आएको बाढीले बगाएको पश्चिमी रामेछापलाई बिपी राजमार्गमा जोडन खैरेनीघाटमा सरकारले १७ महिना पछि बेलिब्रीज निर्माण गरेको छ ।
बेलीब्रीज निर्माण पछि शनिबार देखि यातायातका साधन वारपार गर्न थालेका छन् । स्थानीय युवा मनोज केसीका अनुसार बेलिब्रीज पुरा भएर यातायातका साधन गुड्न थालेपछि अझै सुधारको कार्य बाँकी रहेकाले एकदुई दिन भित्र पूर्ण रुपमा यातायातका साधन संचालन हुन सक्ने वताएका छन् ।

पश्चिमी रामेछापको ढोकाको रुपमा रहेको खैरेनीघाटको पुल २०८१ को असोजको दोश्रो साता आएको बाढीले रामेछाप तर्फको भाग पूर्ण रुपमा वगाएको थियो भने सिन्धुली तर्फको भागमा रहेको स्टक्टर बाहेकको संरचना बगाएको थियो । पुल बगाएपछि पश्चिमी रामेछापका बासिन्दा काठमाडौं आवत जावत गर्नका लागि काभ्रे र रामेछाप जोड्ने सिन्धुरेटारको पुल तर्नुपर्ने र असजिलो सडकको यात्रा गर्नुपर्ने बाध्यता थियो । केहिले सित्खा पुलबाट घुमेर यात्रा गर्ने गरेका थिए ।

सडक विभागले दक्षिण तर्फको पुलको संरचनालाई प्रयोग गरेर उत्तर रामेछाप तर्फको भागमा बेलिब्रीज राखेको हो । गतबर्षकै बाढीले बगाएको सुनकोशीमै रहेको खुर्कोटमा पनि सरकारले बेलिब्रीजनै निर्माण गरेर यातायात संचालन गर्दै आएको छ । खुर्कोटको पुल बगाएको २८ दिनमानै बेलिब्रीज निर्माण गरेको थियो ।

खैरेनी र खुर्कोटमा साविकै जस्तो पक्कि पुल निर्माणका लागि जिल्लाका राजनीतिक दलका अगुवाहरुले माग गरेपनि सरकारले पुल निर्माणका लागि बजेट बिनीयोजन गरेको छैन् । तर खैरेनीमा स्थान परिवर्तन गरी हालको भन्दा केहि पूर्व तर्फ टुप्पीडाडाँमा पुल निर्माण गर्ने गरी प्रकृया अघी बढेको वताइएको छ ।