सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीले सिन्धुली जिल्लाका शिर्ष नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवार विरुद्धमा पार्टीको निर्णय र निर्देशन विपरित बागी उम्मेदवार उठाएको भन्दै उनलाई पार्टीले शनिबार निष्काशन गरेको हो । गजुरेल सगैं बागी उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य महेश्वर दाहाल पनि निष्काशनमा परेका छन् ।
सिन्धुली जिल्लाको २ नम्बर क्षेत्रमा पार्टीले पूर्व सांसद लेखनाथ दाहाल ( राजन ) लाई उम्मेदवार बनाएको थियो । तर दाहाल जिल्लाबाट सिफारीस हुदाँ क्षेत्र नम्बर १ बाट सिफारीसमा परेका तर बलजफ्ति २ नम्बरबाट उम्मेदवार वनाएकोमा पार्टीमा आन्तरिक विद्रोह भएको थियो ।
तत्कालिन माओवादी केन्द्रमा कुनै बेला अध्यक्ष प्रचण्डका अत्यन्त विश्वास पात्र मानिने पूर्व कृषि मन्त्री समेत रहेका गजुरेल सिन्धुलीका प्रभावशाली नेताको रुपमा रहका छन् । माओवादीले संचालन गरेको जनयुद्धकालिन अवस्था देखि पार्टी केन्द्रको राजनीति गरेका महेश्वर दाहाल प्रेस सेन्टरका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल पार्टीका केन्द्रीय सदस्य रहेका थिए । उनले जिल्लाको चाहना विपरित केन्द्रले राजन दाहाललाई उम्मेदवार वनाएको भन्दै कार्यकर्ताहरुको बलमा आफु स्वतन्त्र उम्मेदवार बनेको वताएका छन् ।
तत्कालिन माओवादीका केन्द्रीय सचिव गजुरेल, संविधानसभा सदस्य बसन्त माझी, मरिण गाउँपालिकाका पूर्व अध्यक्ष लगाएतको समर्थन स्वतन्त्र उम्मेदवार महेश्वरलाई रहेको छ । महेश्वर लामो भूमिगत राजनीति गरेका शिर्ष नेता ईश्वरी दाहालका छोरा हुन् ।
यसअघी पार्टी केन्द्रीय समितिले आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका महेश्वर दाहालको प्रश्तावक बस्ने हरिबोल गजुरेललाई शुक्रबार पत्राचार गरी महेश्वर दाहालको बागी उम्मेदवारी फिर्ता गर्नका लागि निर्देशन दिएको थियो । तर उक्त लिखित निर्देशन आउदा पनि उम्मेदवारी नझिकेपछि शनिबार पार्टीका संयोजक प्रचण्ड र सह संयोजक माधवकुमार नेपाल दुवै जनाको दस्तखतमा उनीहरुलाई पार्टीबाट निष्काशन गरिएको सार्वजनिक भएको छ । उनीहरु दुई जनाका अतिरीक्त अन्य ५ जना पनि पार्टीको निष्काशनमा परेका छन् ।
