रामेछाप । नेपाली काँग्रेस रामेछापको कार्यबाहक जिल्ला सभापतिको जिम्बेवारी उपसभापति नबराज थोकरलाई प्रदान गरिएको छ ।
काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम) ले माघ ६ गते देखिनै लागू हुने गरी उपसभापति थोकरलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । उनले फागुन २२ गते सम्मका लागि आर्थिक कारोबार बाहेकका सम्पूर्ण जिम्मेवारी बहन गर्ने गरी कार्यबाहक दिइएको उल्लेख गरेका छन् ।
आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारका लागि हिड्नु पर्ने भएकाले कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको तामाङले दिएको पत्रमा उल्लेख गरिएको छ ।
सभापति तामाङ तत्कालिन केपी शर्मा ओलीको सरकारमा उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्रीमा नियुक्त भएका बेला अर्का उपसभापति लेखवहादुर कार्कीलाई कार्यबाहकको जिम्मेवारी दिएका थिए । राज्यमन्त्रीबाट बर्खास्तीमा परेको लामो समय सम्म पनि कार्कीलाई दिएको जिम्मेवारी कायमै राखेका तामाङले केहि महिना अघी मात्र कार्कीलाई दिएको कार्यबाहक आफैमा फर्काएका थिए । निर्वाचनको सन्निकट भएका बेलामा सभापतिको कार्यकाल भरी फरक खेमामा रहेका थोकरलाई कार्यबाहक दिनुलाई काँग्रेस भित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।
