रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा यो पटक एउटै क्षेत्रका अर्थात भेगका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रमुख राजनीतिक दलका उम्मेदवारहरु जो मूख्य रुपमा प्रतिस्पर्धि हुन् उनीहरु सबै प्रदेश सभा ख क्षेत्र अर्थात तामाकोशी भन्दा पश्चिमी क्षेत्रका बासिन्दा रहेका छन् । नेपाली काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा प्रमुख राजनीतिक दलको उम्मेदवारको रुपमा खडा भएका उम्मेदवार पश्चिमी रामेछापका परेका छन् ।

नेपाली काँग्रेसले सुनापति गाउँपालिको बेथानका रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसमा लामो समय सम्म क्रियाशिल रहेका खड्का १७ बर्ष सम्म काँग्रेस जिल्ला सभापतिको पदमा रहेका काम गरेका शालिन र निकलंक नेता हुन् । संविधान सभा निर्वाचन २०७० मा उम्मेदवार बनेका उनी माओवादीका श्यामकुमार श्रेष्ठ संग पराजित भएका थिए । उनको यो दोश्रो पटक माननीय हुने कोशिस हो ।

नेकपा एमालले खाँडादेविको पकरबास घर भएका माधवप्रसाद ढुंगेललाई उम्मेदवार बनाएको छ । ढुंगेल एमालेका केन्द्रीय सदस्य हुन् । उनले अखिलको केन्द्रीय अध्यक्ष र पार्टीको विभिन्न पदमा रहेर काम गरीसकेका छन् । ढुंगेललाई एमालेले पहिलो पटक उम्मेदवार वनाएको हो । यसअघी दलको भन्दा बाहिर निर्वाचन उनले लडेका छैनन् ।

नेपाली कम्युनिष्ट पार्टीले पूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठलाई यो पटक पनि उम्मेदवार बनाएको छ । २०७० र २०७४ को निर्वाचनमा विजय भएका श्रेष्ठलाई पार्टीले यस पटक समेत प्रतिस्पर्धामा उतारेको हो । मन्थली नगरपालिका ११ गेलुका बासिन्दा श्रेष्ठ तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा भुमिगत राजनीति गरेका व्यक्ति हुन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य हुदै हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका श्रेष्ठ पूर्व गृह राज्यमन्त्री समेत हुन् ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले डा. कृष्णहरी बुढाथोकीलाई उम्मेदवार वनाएका छ । काठमाडौंमा बैंक तथा वित्तिय क्षेत्रमा काम गरेको अनुभव भएका बुढाथोकी राजनीतिमा पहिलो पटक होमिएका हुन । उनी रामेछाप काठमाडौं शृजनसिल समाजको अध्यक्षको रुपमा केहि अवधि देखि समाजसेवाको क्षेत्रमा भने काम गर्दै आएका थिए । मन्थली नगरपालिकाकाको १२ नम्बर वडा गेलुका बासिन्दा बुढाथोकी यसअघी रास्वपाको जिल्लाको राजनीतिमा सहभागि भएका थिएनन् ।

यसअघी मतदाताहरुले निर्वाचन भेगिए हिसावमा पनि उम्मेदवार जित्ने र हार्नेमा लेखाजोखा गर्ने गरेका थिए । तर यो पटक सवै एकै भेगका परेकाले जिल्लाको पूर्वि भेगका मतदाताको मत निर्णायक हुने आकलन गरिन थालिएको छ । पश्चिमी क्षेत्रमा सवै आफ्नै भुगोलको मत जोगाउन लाग्ने भएकाले पूर्वि रामेछापेलीले दिएको मतले उम्मेदवारले जित निकाल्ने मतदाताहरुको बुझाई छ । पूर्वि रामेछापमा यसअघी काँग्रेस र एमाले हाराहारीको अवस्थामा थिए भने तत्कालिन माओवादी तेश्रो शक्तिको रुपमा रहेको थियो । रास्वपा र राप्रपा हाराहारीको अवस्थामा थिए ।