रामेछाप — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ३ जना स्वतन्त्र उम्मेदवार समेत रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार उम्मेदवारी दर्ता गराउनेहरुमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केशरी श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णहरि बुढाथोकी रहेका छन् ।

नेकपा एमाले बाट माधवप्रसाद ढुंगेल, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङी मगर तथा नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट र वीरेन्द्र श्रेष्ठ, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद घिसिङ, नेकपा माओवादीबाट यमुन बहादुर बस्नेतले तोकिएको अवधिमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरेले पनि उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन गर्ता गरेपछि आयोजित कार्यक्रममा प्राय सबै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको उल्लेख गरेका छन् ।

उम्मेदवारी दर्ता गराउन मूख्य निर्वाचन कार्यालय जानु अघी राजनितिक दलहरुले बाजा गाजा सहित नारा जुलुस गर्दैं बजार परिक्रमा गरेका थिए । यस क्रममा नेकपा एमाले र रास्वपाको जुलुस मिसिदा केहि बेर झडपको वातावरण वनेको थियो । रास्वपाले उक्त घटनाको निन्दा गर्दै विग्यप्ति प्रकाशित गरेको छ ।

रामेछापमा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए । निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातेको छ ।