रामेछाप । लिखु नदीको चिसो पानीको पर्वाह नगरी विहान झुस्मुसेमा माछाको खोजीमा जुट्नेहरु अचेल नदी किनारमा त्यति धेरै भेटिदैनन् । माछा लोप भएपछि माछा मार्ने शिप भएकाहरु घरमै खुम्चिएका छन् । माछा नपाउदा विहानै उठनुको साटो उनीहरु अवेर सम्म ओछ्यानमै हुन्छन् ।
पहिलेको तुलनामा माछा न्यून हुने भएकाले मार्नेहरुको जाँगर पनि कम भएको छ । दिनभरी ढुंगामा बसेर टाँगा खेल्ने हुन् या राति छुटा जाल हाल्नेहरुले त्यति धेरै सफलता पाएका छैनन् जस्तो पहिले पहिले पाउथे । खटाई धेरै तर सफलता कम भएकाले अहिले थोरै मानिस मात्र लिखु किनारमा देखिन्छन् ।
पहिले दिनकै १५ देखि २० केजि सम्म माछा किन्ने साँघुटारकै प्रख्यात माईला होटलका चेतवहादुर प्रधानकोमा अचेल मुस्किलले २÷४ केजि मात्र माछा आईपुग्छन् । धेरै माछा परेको बेलामा व्यवसायीले उनको होटलमै ल्याउने र थोरै परेको बेला प्रधान माछा खोज्दै किनार किनार दौडिने गरेका छन् । उनकोे होटल माछाका परिकारका लागि त्यो फेटमै प्रख्यात छ ।
लिखु नदिमा प्राय सवैभन्दा राम्रो मानिने असला माछा पाईन्छन् । ‘यो सिजनमा धेरै असला आउछन् ’ माईला होटलका संचालक तेजवहादुर प्रधान भन्छन् – बर्षा लागेपछि अरु पनि पाईन्छन् । लिखुमा अचेल ५ सय ग्राम देखि बढीमा डेढ केजि सम्मका असला भेटिने गरेको उनले सुनाए । तर पहिलेको तुलनामा धेरै थोरै र साना माछा मात्र पाईने गरेको उनको अनुभव छ ।

प्रधानको माईला होटलमा पुग्ने जो कोहिको पनि पहिलो रोजाई माछानै हुने गरेको छ । माछाको मिठो झोल सँग स्थानीय तात्तालो खानाका लागि माईलालाईको होटल खोज्नेहरु धेरै हुन्छन् । तर साँघुटारमा अरु पनि होटलहरु नभएका हैनन् । झण्डै १५ वटा होटलहरुले केहि न केहि मात्रामा माछाका विभिन्न परिकार बेचिरहेकै हुन्छन् । साँघुटारमा माछा खाना ३ सय ५० रुपैयाँमा पाईन्छ ।
कुनै बेला माछाका लागि फेटमै कहलिएको साँघुटारमा आजभोली तराईको माछा समेत पुग्ने गरेको छ । शनिबारे हाटको दिन तराईको गाडिले बोकेर पुग्ने माछा धेरैले रुचाउने गरेका छैनन् । ‘साँघुटारमै त थोरै थोरैले किन्ने हुन् ’ प्रधान भन्छन् – गाउँतिरबाट बजार गर्न आउनेले त्यहि भएपनि लैजाने गरेका छन् ।
पहिले धेरै सस्तो मोलमा भनेजति माछा पाउने स्थानीयहरु अचेल मनग्यै पैसा हाल्दा पनि माछा नपाएकोमा खिन्न हुनेगरेका छन् । आफुलाई खान मात्र हैन, काठमाडौंमा बसोवास गर्ने आफन्तलाई कोशेलीको रुपमा सुकेको माछा पठाउनेहरु पछिल्ला बर्षहरुमा त्यस्तो मौका पाएका छैनन् । अहिले लिखुका माछा प्रति केजि १ हजार २ सय रुपैयाँ सम्म पर्छ । असला संग छ्यासमिस मिसिएका माछा ८ सयमा पनि पाईन्छन् । यो भाउ खसीको भन्दा धेरै हो । खसीको छानेको मासु बजारमा प्रतिकेजि १ हजार १ सय ५० रुपैयामा किनबेच हुने गरेको छ ।
जलवायुको परिवर्तन र विभिन्न जलविद्युत आयोजनाका कारण लिखुमा लगातार माछा घटीरहेका छन् । लिखुमा मात्र विभिन्न ७ वटा जलविद्युत आयोजनाहरु रहेका छन् । तिनले लिखु यता र उता फर्काउदा माछाले उभोँ र उधोँ झर्ने बाटो पाएका छैनन् । कुनै बेला माछा फु्र्ने भनेर ख्याति कमाएको गुम्देलमा अचेल माछा फुल्दैनन् । तलको माछा सङ्गो पानीमा फुल पार्न गुम्देलको खोला तिर उकालिने र फुलबाट बच्चा झिकेपछि फेरी लिखुमा झर्ने क्रम हुन्थ्यो । स्थानीयहरु त्यसलाई माछा फुर्नेे भन्थे । एकैदिन हजारौं माछाको लाईन लिखु झर्ने भएकाले साविकको गुम्देल गाविसले माछाको ठेक्का लगाएर बार्षिक १ लाख भन्दा बढी राजश्वनै संकलन गर्ने गरेको थियो । तर अहिले जलविद्युत आयोजनाले त्यो कुरा कथा जस्तै हुनपुथ्यो । माछाले फुल पार्ने ठाँउमा जान बाटोनै पाएका छैनन् ।
ओखलढुंगा र रामेछापको साझा नदी माछाका लागि कुनै बेला प्रख्यात मानिन्थ्यो । लिखु नदीको माछा भने पछि भुतुक्क हुनेहरुको जिब्रोले अचेल जिब्रोमा माछाको स्वाद पाउदैन् तर स्मरण भने ताजै छ । ‘चौपट्टै राम्रा असला माछाका लागि यो फेटमै लिखु नदी कहलिएको थियो’ स्थानीय बरिष्ट व्यवसायी बद्रीदाश भौकाजि भन्छन् – यहाँ माछा पाईन्छ कि पाईदैन् भन्दा पनि बिक्ने हो कि होईन भन्ने चिन्ता हुन्थ्यो, अहिले यस्ता दिन पनि आए ।
