काठमाडौँ — नेपाली कांग्रेसले निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनतामा आशा, विश्वास र सुरक्षा दिलाउन राष्ट्रिय पुनर्जारण अभियान सञ्चालन गर्ने प्रश्ताव विषेश महाधिवेशनमा प्रश्तुत भएको छ ।

‘यसको मुख्य उद्देश्य निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास, सुरक्षाको दियो जगाउनु रहेको प्रश्तावमा उल्लेख गरिएको छ। राजनीतिलाई जनमुखी, समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्धन गर्नु रहेको छ ।

उक्त अभियानले व्यक्तिगत स्वार्थ, गुटबन्दीको अन्त्य गर्दै पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने छ । महामन्त्री गगनकुमार थापाले भने - ‘राष्ट्रिय आत्मविश्वास, सामाजिक एकता, सद्भावलाई अभिवृद्धि गर्ने लक्ष्य राखेका छौं ।’

अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई राजनीतिक, सामाजिक र सांस्कृतिक जिम्मेवारीका साथ परिचालन गरिने छ । ‘यसले घृणा, द्वेष, प्रतिशोधबाट समाजलाई माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका निर्वाह र राष्ट्रिय स्वाभिमान बढाउनेछ । अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिर्जना गर्नेछ,’ थापाले भने, ‘संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समतालाई प्रवर्धन गर्ने मार्गचित्रका साथ आम नागरिकको हृदयमा नौलो जाँगर र भरोसाको किरण छर्नेछ ।’