रामेछाप । ३०४ औं पृथ्वि जयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाको खड्गदल गण रामेछापले जिल्लाकै ऐतिहासिक किल्लाको रुपमा रहेको तिल्केस्थान गढी सम्म आईतबार पदयात्राको आयोजना गरेको छ ।
रामेछापको भंगेरी स्थित झगरेचौरबाट शुरु भएको उक्त पदयात्रा डुकुरसिं डाडाँ हुदै तिल्केस्थानगढी पुगेको थियो । सैनिक ब्याण्ड र बाजागाजा सहित नेपाली सेनाको टुकडि सहित जनप्रतिनिधि, कर्मचारी, उद्योगी व्यापारि, साहु महाजन, समाजसेवि लगाएतको उक्त पदयात्रामा सहभागिता रहेको थियो ।
ऐतिहासिक तिल्केस्थानगढीमा आयोजित कार्यक्रममा श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रम्ुख लबश्री न्यौपाने, खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर केसी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपकप्रसाद घिमिरे लगाएतले स्वर्गीय पृथ्विनारायण शाहको कृतित्वको बारेमा चर्चा गर्दै उनकै रणनितिक योजना अन्तरगत निर्माण भएको तिल्केस्थानगढीको बारेमा आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली सेनाको खड्गदल गण रामेछापका गणपति प्रमोद पौडेलले राष्ट्रनिर्माता श्री ५ बडामहाराधिराज पृथ्विनारायण शाहको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्दै उनले अग्रेज संगको युद्धमा रणनैतिक रुपमा विजय प्राप्त गर्नका लागि सिन्धुलीगढी र त्यस आसपासमा मद्धतिको रुपमा सहायक गढीहरुको निर्माण गरिएको प्रशंग उल्लेख गरेका थिए ।
कयौं बर्ष देखि अलपत्र रहेको तिल्केस्थान गढी परिसरमा केहि महिना अघि मात्र नेपाली सेनाले कालिमन्दिरको निर्माण गरेको थियो भने गढी र किल्लाको पुननिर्माण र सफाई गरेको थियो । जसको नेतृत्वमा पनि गणपति पौडेलले गरेका थिए ।
राष्ट्रिय एकता दिवसका अवसरमा जिल्लामा यसअघी औपचारिक कुनै कार्यक्रमको आयोजना गरिने गरिएको भएपनि नेपाली सेनाको आयोजनामा रामेछापमा भएको यो पहिलो पदयात्रा हो । पदयात्रा कार्यक्रममा सयौंको सहभागिता रहेको थियो ।
