रामेछाप । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति तथा प्रजातान्त्रिक योद्धा होमनाथ दाहालको ८४ बर्षको उमेरमा शुक्रबार साँझ निधन भएको छ ।
विभिन्न रोगबाट ग्रसित दाहाललाई उपचारकालागि विर अस्पताल लैजादै गर्दा बाटोमानै मृत्यू भएको हो । नेपाल पत्रकार महासंघको २०४९ साल देखि २०५१ साल सम्म केन्द्रीय सभापतिको रुपमा रहेका थिए । पञ्चायति व्यवस्थामा विभिन्न पत्र पत्रिका र लेख मार्फत लोकतन्त्रका पक्षमा दाहालले कलम चलाएका थिए ।
स्वर्गीय दाहाल छिमेकी जिल्ला ओखलढुंगाबाट २०५६ सालको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले २०६१ सालमा कृषि तथा सहकारी मन्त्रीको रुपमा कार्य गरेका थिए ।
दाहालको निधन प्रति विभिन्न राजनीतिक व्यक्ति र पत्रकारहरुले दुख्ख व्यक्त गरेका छन् । उनले नेपाली राजनीति र पत्रकारीता क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गर्दै अधिकांशले दाहालको निधनले अभावको महशुस भएको उल्लेख गरेका छन् ।
स्वर्गीय दाहालको पार्थिव शरिर शनिबार विहान साँढे ९ बजे सम्म उनकै घर नजिक मैतिदेवि धोविखोला किनारमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिने परिवारजनले जनाएका छन् । स्वर्गीय दाहालका श्रीमति र दुई छोरा छन् ।
