रामेछाप । शुक्रबार रामेछापबाट काठमाडौंका लागि १९ जना सिट क्षमता भएको सीता एयरमा जम्मा ५ जना मात्र यात्रु भए । काठमाडौंबाट संतोषजनक यात्रु बोकेर मन्थली अवतरण गरेको सीता एयरको जहाज थप यात्रुका लागि केहि बेर पर्खियो तर पाएन , त्यहि ५ जना बोकेर उड्यो । ‘यो अवस्थामा जहाज कसरी संचालन गर्नु ’ सीता एयर रामेछापका सरोज घिमिरेले भने – जहाज चलोस भन्ने रहरले मात्र भएन, यात्रु पुग्नु प¥यो ।

धेरै समयको माग र कठिनाईका बेला सहमति भएर संचालन हुन थालेको सातामा एक दिन काठमाडौं–रामेछाप–काठमाडौं उडान फेरी धरमरको अवस्थामा पुगेको छ । विमान कम्पनीहरुले सहमति बमोजिम उडान राख्दा यात्रु अभाव हुन थालेपछि कम्पनीहरु साताको एक उडान गर्न पनि आनाकानीको अवस्थामा पुगेका छन् ।

रामेछापबाट सोलुको लुक्ला विमानस्थलका लागि सिजनल उडान गर्ने तीन वटा विमान कम्पनी र शान्तिदीप युवा क्लब लगाएतको सहमतिमा गत असोजमा रामेछाप काठमाडौं यात्रुसेवा उडान गर्ने सहमति तीन विमान कम्पनीहरुले गरेका थिए । दशैं, तिहार र रोशी खोलामा सडक अवरुद्ध भएका बेला यात्रु खचाखच भएपनि अव विस्तारै विमानले यात्रु पाउन छोडेका छन् । रोशी खोलाको सडक सहज भएको र जहाजको टिकट अलि महंगो भएको भन्दै यात्रुहरुले सडक मार्गनै रुचाउने गरेकाले जहाजले पाउने यात्रु थोरै हुन थालेका हुन् ।

‘जहाज खाली खाली उडान गाह्रो हुने भयो भन्दै खवर आएको छ’ शान्तिदिप युवा क्लबका अध्यक्ष एवं उडान व्यवस्थापनका लागि संझौताकर्ता सुरेश उदासले भने – बर्षौको अनुरोध पछि बल्ल राखिएको उडानलाई निरन्तरता दिनका लागि पनि रामेछापेलीहरुले जहाजको प्रयोग गर्नका लागि संवेदनसिल भईदिनु पर्ने भयो ।

उनले अहिले बिपी राजमार्ग पुननिर्माणको क्रम चलेको, जाम र रोशीखोलाको असजिलो बाटो पार गरेर काठमाडौं जान आउन पहिलेको भन्दा बढी समय लाग्ने अवस्थामा सातामा एक दिन हुने उडानका लागि यात्रुको अभाव हुन नदिनेमा जिल्लाका नागरिक अगुवाईले अग्रसरता दिनुपर्ने वताए । ‘बाटो पनि त्यति सहज छैन् विरामी, महिला, वृद्धवृद्धा, बालबालिकाहरुलाई जहाजको यात्रा सहज हुन्छ’ उदासले भने – यात्राको लागि भन्दा पनि यो त जिल्लाको सम्बृद्धि र सुविधा संग जोडिएको विषय भएकाले साताको एक उडान जसरी पनि गराउनु पर्ने अवस्था रहेको औंल्याए ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकाको मात्र नभै जिल्लाकै ईज्जतको कुरा भएकाले सातामा एक हवाई उडान जसरी पनि संचालन गर्ने विषयमा सवैले साथ दिन आग्रह गरे । ‘यहि जहाजको उडान हुनुपर्छ भनेर हामीले विगत देखिनै विभिन्न फोरोममा कुरा गर्दै आएका थियौं तर पछिल्लो अवधिमा देशमा भएको परिवर्तन सगैं जेनजी समेतको मागलाई ध्यानमा राखेर विमान कम्पनीहरु रामेछापबाट काठमाडौंका लागि उडान राख्न सहमत भएका बेला फेरी हामीले यात्रु पुर्याईदिएनौं भने भोलीका दिनमा जहाजको उडान तालिका माग गर्ने बाटो पनि नहुने भन्दै श्रेष्ठले उद्योगी व्यवसायी, साहु महाजन, जनप्रतिनिधि, सरकारी निकायमा कार्यरत कर्मचारीले यस सवालमा गम्भिर हुन आग्रह गरे ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले जिल्लाको सम्पत्तिको रुपमा रहेको रामेछाप विमानस्थलबाट हाल भइरहेको साताको एक उडानका लागि यात्रु संख्या पु¥याउने विषयमा सवैले चासो र सहयोग गर्नुपर्ने वताए । ‘ एक दुई सिट तलमाथि होला तर सातामा १९ जना यात्रु पनि भएनन् भन्दा जिल्लाकै लाजमर्दो विषय बन्नेभयो ’ थापामगर भन्छन् – हामी यात्रु पु¥याउनका लागि सहयोग गर्छौ, कम्पनीहरुले उडान तालिका राख्न आनाकानी गर्नु हुदैन् ।

बर्षौ अघी देखि रामेछापेलीले रामेछापबाट सोलुको लागि यात्रु बोक्ने तर रामेछापबाट रामेछापेलीले काठमाडौं उडेर जान नपाउने भन्दै विमान कम्पनीहरु र नेपाल नागरिक उड्यन प्राधिकरण संग गुनासो गर्दै आएका थिए । यहि गुनासो संवोधन गर्नका लागि रामेछापबाट सोलुको लुक्लाका लागि सिजनमा उडान गर्ने सीता, तारा र समिट एयरले सातामा एक उडान गर्नका लागि सहमति जनाएका हुन् ।