रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा मंगलबार मन्थलीमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष जेएन दाहालको अध्यक्षतामा भएको उक्त साधारण सभाको बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटाले बर्तमान परिप्रेक्ष्यमा जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थालाई सुदृढ र पारदर्शि बनाई नागरिकले रुपैयाँ रुपैयाँ गरेर गरेको बचतको संरक्षण गर्नुपर्नेमा सवै सहकारी अभियान्ताहरुले ध्यान दिएर कार्य गर्नु पर्ने उल्लेख गरे ।
साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष गोबिन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष दिपकप्रसाद घिमिरे, लेखापरिक्षक रमेशकुमार बस्नेत, लगाएतले बर्तमान सन्दर्भमा सहकारी संस्था र छाता संस्थाहरुले निभाउनु पर्ने भूमिकाको बारेमा आ आफ्ना धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष जेएन दाहालले रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थागत कार्यप्रगति प्रश्तुत गरेका थिए । उपाध्यक्ष नविनकुमार केसीले आर्थिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रज्ञान खड्काले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन साधारण सभा समक्ष प्रश्तुत गरेका थिए । उक्त प्रश्तावहरुलाई साधारण सभाले स्वीकृत गरेको छ ।
रामेछाप जिल्लामा रहेका ९५ वटा प्रारम्भिक सहकारी संस्थाहरुको छाता संस्थाको रुपमा कार्य गर्दै आएको उक्त संघको संस्थागत पूँजि ६ करोड ६ लाख ६९ हजार ७ सय ९१ रहेको छ ।
कार्यक्रममा जिल्लामा सहकारी अभियानलाई उचाईमा पु¥याउन महत्वपूर्ण योगदान गर्ने अभियान्ता मुकुन्दप्रसाद कडरीया, उत्कृष्ट आर्थिक कारोबार गर्ने तिल्पुङ कृषि बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट सहकारी संस्था भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरिएको थियो । त्यसैगरी उत्कृष्ट व्यवस्थापकमा सम्बृद्धि बचत तथा ऋण सहकारी संघका व्यवस्थापक दिपक कार्की र जिल्ला संघकी पूर्व व्यवस्थापक रमा श्रेष्ठलाई समेत कार्यक्रममा सम्मानित गरिएको थियो ।
