रामेछाप । मन्थली नगरपालिका ४ नम्बर वडाको नवनिर्मित भवनको बिहिबार मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका छन् । उनले वडा भवनमा झण्डाेतोलन समेत गरेका छन् । 

वडा अध्यक्ष राजनप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख श्रेष्ठले मन्थली नगरपालिकाले नगरको पूर्वाधार विकास सगसगैं आर्थिक सम्बृद्धि हासिल हुने खालका विभिन्न योजनाहरुमा लगानी गर्दै लगेको वताए । नबनिर्मित वडा कार्यालय भवनबाट नागरिकहरुले सहज रुपमा सवै सेवाहरु लिन सक्नेमा उनले विश्वास व्यक्त गरे ।

गाउँमा विकास निर्माणको क्षेत्रमा धेरै रकम भित्रिरहेको बेला गाउँ बाट पनि शहर तिर कृषि तथा पशु उपजहरु पठाउन सक्नुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए ।
कार्यक्रममा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत, प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटा, नगर प्रबक्ता गोपाल श्रेष्ठ, वडा अध्यक्ष भुबनहरी प्रसाई, जग्गादाता जगतवहादुर तामाङ, पूर्व गाविस अध्यक्ष हिरण्य बस्नेत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद हरुले वडा भवन निर्माणको खुसीयाली सगैं सेवा प्रवाहमा वडाका पूर्वाधारहरुले सहयोगीको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा जग्गादाता जगतवहादुर तामाङलाई सम्मान गरिएको थियो । त्यसैगरी वडामा शिक्षा, स्वास्थ्य, कृषि, सुरक्षा र पूर्वाधारको क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । नगरप्रमुख लब श्रेष्ठले सम्मानीत हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा कार्यालयमा कार्यरत कर्मचारीहरु पनि सम्मानीत भएका थिए ।

मन्थली नगरपालिकाको १ करोड १५ लाख ९६ हजारको लागतमा निर्माण भएको उक्त भवनमा प्रशासनिक कक्ष, बैठक हल र विषयगत शाखाहरुको लागि प्रयाप्त कार्यकक्षको व्यवस्था रहेको छ । उक्त भवन करिव ३ रोपनी जग्गाको हातामा निर्माण भएको हो । भवन निर्माण स्थल सम्म पुग्नका लागि सडक निर्माणका लागि जग्गा दिने व्यक्तिहरुलाई पनि सम्मानीत गरिएको थियो ।

बिहिबार उद्घाटन भएको ४ नम्बर वडा कार्यालय सहित अव मन्थली नगरपालिकाका १२ वटा वडामा कार्यालय भवन निर्माण पुरा भइसकेका छन् । ६ र १२ नम्बर वडामा वडा कार्यालयको लागि भवन निर्माण गर्न बाँकी रहेको छ ।