रामेछाप । सुशिला कार्की नेतृत्वमा रहेको नेपाल सरकारमा महत्वपूर्ण विकास निर्माण मन्त्रालयको जिम्मेवारी संहालेका मन्त्री कुलमान घिसिङ पहिलो पटक जिल्ला सदरमुकाममा आएको मौका छोपेर रामेछाप उद्योग वाणिज्य संघले विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित एक कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले मन्त्री घिसिङलाई विभिन्न उक्त माग पत्र पेश गरेका हुन् । संघले समेटेको माग पत्रमा यस अघी देखिनै उठाउदै आएको बिपी राजमार्गमा ठुला मालबाहक साधनको संचालन गर्नुपर्ने माग समेत समावेश छ । त्यसका अतिरीक्त सोहि राजमार्गमा हाल रातीको समयमा मात्र चल्दै आएका साना मालबाहक साधनलाई निर्वाध रुपमा दिनमा पनि संचालन गर्नका लागि माग गरिएको छ ।
संघले सुनकोशीले बगाएको खुर्कोटको पुल यथासक्य चाडो निर्माण गर्न,रामेछाप जिल्ला सदरमुकाम तथा शहरोन्मुख जिल्लाका सबै बजार केन्द्रमा सडक वत्तिको व्यवस्थापन गर्न, मन्थलीमा दीर्घकालिन डम्पिङ साईटको निर्माण गर्न, मन्थलीमा थप शहरी पूर्वाधारको निर्माण तथा पार्क निर्माण गर्नका लागि कार्यक्रममा समावेश गरी आवश्यक बजेट बिनीयोजन गरिदिन माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले सिन्धुली देखि खुर्कोट सम्मको बिपी राजमार्गमा ठुला मालबाहक साधनको संचालनका लागि माथिल्लो तहमा छलफल भइरहेको र जाईकाले निर्माण गरेकाले त्यस तर्फ पनि छलफल चलाउनु पर्ने अवस्था रहेको वताए । उनले उक्त समस्याको समाधानको लागि आफ्नो प्रयत्न जारी रहेको वताए । खुर्कोटको पुल निर्माणका लागि आवश्यक प्रकृया अघी बढेको वताउदै अन्य विकास निर्माण र विद्युतिकरणका कार्यमा यथासक्य चाडो निर्णय लिईने वताए ।
