रामेछाप । सरकारले ८ बर्ष पछि छुट जग्गा दर्ताको लागि खुला गरेको अवधि सकिनै लाग्दा रामेछापमा भने उल्लेख्य जग्गाधनीले आफ्नो छुट भएको जग्गा दर्ता गरेर पुर्जा लान सकेका छैनन् ।

२०८० साल माघ १२ गते देखि २०८२ माघ ११ सम्मको अवधि दिएर सरकारले छुट जग्गा दर्ता खुला गरेको हो । तर उक्त अवधि सकिनै लाग्दा रामेछापमा जम्मा ७५ जनाको मात्र छुट जग्गा दर्ताको लागि सिफारीस भएको छ । सिफारीस भएका मध्ये पनि हाल सम्म ४३ जनाले मात्र पूर्जा लगेका छन् । अरु प्रकृयामै छन् ।

२०३१ मा नापी गौश्वाराले नापी गरेको, फिल्ड बुकमा नाम कायम भएको, ७ नम्बर ( तत्कालिन अवस्थमा जिम्वाल लाई जग्गाको खेति लगत वुझाएको ) रसिद र २ नम्बर सरिद (जिम्वाललाई तिरो बुझाएको ) भएकाहरुले छुट अवधिमा जग्गा दर्ता गर्न पाउने कानुनी व्यवस्था गरिएको छ । उक्त कागजात र प्रमाण भएकाले वडाको सिफारीस सहित कागजात पेश गरेपछि मालपोत कार्यालयले दर्ताको प्रकृया थाल्ने गर्दछ ।

मालपोत कार्यालय रामेछापका जग्गा दर्ता फाँट प्रमुख जिबन श्रेष्ठका अनुसार उल्लेखित कागजातका अतिरीक्त तत्कालिन अवस्थाका जग्गाधनिको मृत्यू भएमा मृत्यू प्रमाण पत्र र नाता प्रमाणित सहित राखेर आएका निवेदनहरुका सम्बन्धमा मालपोत कार्यालयले ३५ दिने हकदावि सम्बन्धि सूचना जारी गर्ने गरेको छ । उक्त अवधिमा कोहि कसैको दावि विरोध नआएमा छुट जग्गा दर्ता समितिमा फाईल पेश हुन्छ । समितिमा प्रमुख मालापोत अधिकृत अध्यक्ष, नापी अधिकृत सदस्य, मालपोत कार्यालयको बरिष्ट कर्मचारी सदस्य र फाँटवाला सदस्य रहने व्यवस्था छ ।

रामेछापमा वितेको २३ महिनाको अवधिमा जम्मा १ सय ७९ वटा छुट जग्गा दर्ताको दावि गरेर निवेदन परेका थिए । त्यस मध्ये ७५ वटाको सिफारीस भएको हो । अन्य प्रकृयामानै रहेका छन् । सरकारले दिएको अवसरलाई उपयोग गर्दै मालपोत कार्यालयबाट एकै जनाको बढीमा ४२ रोपनी सम्म जग्गा दर्ता भएको छ । त्यसरी जग्गादर्ता गर्ने जग्गाधनिले आफुले दर्ता दावि गरेको जग्गाको २०३२ साल देखिको तिरो ( भूमि कर ) भने बुझाउनु पर्छ । अन्य शूल्क त्यस्तो केहि लाग्दैन् । त्यसबेलाको जग्गाधनिको मृत्यू भइसकेको अवस्थामा भने नामसारी शूल्क लाग्ने व्यवस्था छ ।

श्रेष्ठका अनुसार माघ ११ गते सम्म सबै निर्णय सक्नु पर्ने भएकाले अवको एक साता भित्र परेका निबेदन भन्दा बाहेकका हरुको पूर्जा बन्ने अवस्था हुदैन् । सूचनाको म्यादनै ३५ दिन दिनु पर्ने भएकाले प्रकृयाकै लागि अव आउने निवेदकको जग्गा दर्ता गरेर पूर्जा दिने अवस्था देखिदैन् । समय पुग्दैन् ।

छुट जग्गा दर्ता अवधि दुई बर्षमा जग्गावालाले पूर्जानै पाईसक्नु पर्ने नियम छ । यदि उक्त अवधिमा पूर्जा वितरण हुन नसकेमा निवेदन दर्ता गरेर फाईल तामेलीमा राख्ने व्यवस्था रहेको फाँट प्रमुख श्रेष्ठले वताए । सरकारले २०७२ साल पछि बल्ल २०८० सालमा छुट जग्गा दर्ता खुलाएको हो ।

पश्चिमी रामेछापमा छुट जग्गाको विकराल समस्या छ । तर उक्त क्षेत्रबाट आशातित छुट जग्गा दर्ताका लागि निवेदन परेका छैनन् । साविकमा जग्गा दर्ता भएर लगत कायम भएपनि रातो मसिले काटेकाले उनीहरुले पूर्जा पाएका छैनन् । हदवन्दी भन्दा धेरै जग्गा परेकोले कुनै एक व्यक्तिको खरबारी जग्गाको लगत काट्ने आदेश हुदाँ त्यस क्षेत्रका धेरैको खरबारीको लगतमा रातो मसिले काटिएको पाईएको छ ।

‘छुट जग्गाको म्याद थप भयो भने पश्चिमी रामेछापबाट मात्रै अझै २ सयको हाराहारीमा निवदेन आउने अवस्था छ’ फाँट प्रमुख श्रेष्ठले भने – थपिने बारेमा अहिले सम्म कुनै जानकारी माथिल्लो निकायबाट आएको छैन् ।