रामेछाप । विगतको समितिले छोडेका बग्रेल्ति समस्याहरुलाई व्यवस्थापन गर्दै उपभोक्तालाई संतुष्टि दिलाएको मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई पानीको मात्रा बढाउन उपभोक्ताको चर्को दबाब परेको छ ।

समितिले न्यूनतम महशुलमा मासिक प्रति धारा १५ हजार लिटर पानी उपलव्ध गराउने गर्छ । उक्त पानीले सामान्य परिवारलाई समेत नपुगेपछि पानीको मात्रा बढाउन दबाब परेको हो । गृहस्थि जिवनमा घरमा आवश्यक पानीका अतिरीक्त घर पालुवा जनावर र तुलफुलका लागि पनि पानीको खपत धेरै हुने भएकाले न्यूनतम पानीले नपुग भएको उपभोक्ताको भनाई छ ।

साविकको समितिले मासिक ६ सय लिदै आएकोमा हालको समितिले न्यूनतम शूल्क घटाएर ४ सय कायम गरेको छ । उक्त शूल्कका अतिरीक्त मासिक १५ हजार लिटर भन्दा माथि पानी प्रयोग गर्नेले अलग्यै महसुल तिर्नुपर्ने व्यवस्था छ । उपभोक्ताहरुले मासिक रुपमा तिर्ने न्यूनतम महशुलमा कम्तिमा पनि २० हजार लिटर पु¥याउन माग गरेका छन् ।

‘अहिलेको लागि दैनिक १ हजार लिटर जस्तो पानी आवस्यक पर्छ ’ सानीमदौंका दामोदर सुवेदीले उपभोक्ताहरुको भेलामा भने – पानीको मात्रा बढाउने, शूल्क त्यहि कायम गर्दा हुन्छ । समितिले गरेका क्षेत्रगत भेलामा सहभागि धेरैको उक्त माग रहेको छ । समितिले गरेका क्षेत्रगत भेलामा सहभागि भएका उपभोक्ताहरुले खानेपानीको शूल्कमा कुनै आपत्ति जनाएका थिएनन् बरु पानीको न्यूनतम परिणाम नपुग भएको गुनासो गरेका थिए ।

समितिका सचिव ढाकल थापाले विगतमा समितिले उपभोक्ताको हितका लागि न्यूनतम शूल्क घटाएको भन्दै अझै पनि न्यूनतम महशुललाई १ सय घटाएर ३ सय कायम गरी पानी खुवाउन सक्ने अवस्था देखिएको वताए । ‘हामी पैसा घटाउने कि न्यूनतम पानीको मात्रा बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं ’ थापाले भने – यसका लागि समितिले आवश्यक छलफल गरी साधारण सभामा प्र्रश्ताव लैजानेछ ।

साविकको समितिले मासिक ६ सय न्यूनतम शूल्क लिदा पनि समिति धरमरको अवस्थामा चलेको थियो । पानी तान्ने पम्प जल्दा फेरी खरिद गर्ने पैसाको जोगाड थिएन । समितिका अध्यक्ष पूर्णवहादुर सुवेदी भन्छन् – अहिले हामीले मासिक शूल्क २ सय घटाउदा पनि समितिको कोष बलियो बनाउनुका साथै मेसिनको जोगाड गरेका छौं । अव ठुलै विपत्ति परेको अवस्थामा पनि समितिले धानिने अवस्थामा पुगेको सुवेदीले दावि गरे ।

जिल्ला सदरमुकाम मन्थलीमा बसोवास गर्ने र आसपासका ग्रामिण क्षेत्रका नागरिक समेतलाई खानेपानीको दैनिक आपूर्ति गर्दै आएको समितिले १ हजार भन्दा धेरै धारामा पानी वितरण गर्ने गरेको समितिका व्यवस्थापक जगदीश सुवेदीले वताए । वातावरणमा आएको परिवर्तन र बर्षौ देखिको खडेरीले सतही मुलहरु भलुवाखोला र गुहाखोलाको पानीले वितरण नपुगेपछि झण्डै दुई दशक अघी देखि तामाकोशी किनारमा ईनार बनाई त्याहाबाट विद्युतिय मोटर पम्पबाट पानी तानेर समितिले उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । मन्थली, आकाशे, नालामी, दाहालगाउँ, सानिमदौं, खाँदबारी लगाएतको क्षेत्रमा समितिले खानेपानी वितरण गर्ने गर्छ । सतही मुलको पानी नपुग हुन थालेपछि समितिले मासिक झण्डै ३ लाख रुपैयाँ विद्युत महसुल तिरेर खानेपानी लिफ्ट गर्ने गर्छ ।

खानेपानीको अभाव हुन नदिनका लागि समितिले मन्थली खानेपानी सुधार विस्तार योजनाहरुको कार्यान्वयनमा जोड दिदै आएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछाप मार्फत योजनाको कार्यान्वयनमा जोड दिदै आएको समितिलाई मन्थली नगरपालिकाले समेत सघाउदै आएको छ ।

अध्यक्ष सुवेदीका अनुसार हालै मात्र बादीचौरमा ठुलो क्षमताको पानी शुद्धिकरण गर्ने पोखरी र पानी ट्यांकीको निर्माणको कार्य थालिएको छ । उक्त दुवै निर्माण कार्य सम्पन्न भएपछि उपभोक्तालाई शुद्ध र गुणस्तरीय खानेपानी वितरणमा थप प्रभावकारी सेवा दिईने समितिको दावि छ । यसअघी हालको नेपाली सेनाको गुल्म नजिक रहेको पानी शुद्धिकरण गर्ने पोखरीबाट मन्थलीमा वितरण गरिने खानेपानी शुद्धिकरण गर्ने गरीएको थियो । तर उक्त पोखरीले मात्र सवै क्षेत्रमा वितरणको लागि पानी नपुग्ने भएकाले तामाकोशीको भूमिगत ईनारमा निर्मलीकरण भएर आउने पानीलाई लिफ्ट गरेर सिघै वितरण गर्ने गरिएको समितिले जनाएको छ ।