रामेछाप । मन्थली नगरपालिकाको १ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सहभागि गराएर शिक्षण सिकाई कार्यक्रमको आयोजना गरिएको छ ।
शनिबार मन्थली नगरपालिका १ नम्बर वडाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षक अभिसेक घिमिरे र सुदर्शन घिमिरेले शैक्षिक सुधारका विभिन्न टुल्सहरुको बारेमा शिक्षकहरुलाई प्रशिक्षित गराएका थिए ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि यथोचित लगानी गरेको वताए । उनले शिक्षामा भएको लगानीले तत्काल प्रतिफल दिने भन्दा पनि यसको प्रतिफल दिर्घकाल सम्म आउने भएकाले अध्यापकहरुले नानी बाबुहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न दत्तचित्त हुनुपर्नेमा जोड दिए । गुणस्तरिय शिक्षा नगरपालिकाको जहिल्यै पनि प्राथमिकतामा पर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले जुनसुकै सहयोग गर्ने वताए ।
वडा अध्यक्ष होमप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रबक्ता गोपाल श्रेष्ठ, वडा अध्यक्ष राजनप्रसाद घिमिरे समेतले नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि ठुलो लगानी गरेको वताए । उनीहरुले यस प्रकारको प्रशिक्षणबाट शिक्षकहरुले अध्यापनका लागि नयाँ उर्जा प्राप्त गरेको उनीहरुको दावि थियो ।
कार्यक्रमका अवसरमा मन्थली नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्यापन कार्यमा सम्लग्न रही शिक्षा क्षेत्रको उन्नयन तथा विकासमा योगदान पु¥याउने शिक्षकहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नवीन बुढाथोकी, बसन्त सुबेदी, समिता मगर, कृष्ण कुमार श्रेष्ठ, सरस्वती मोक्तान , नरदेबी थापा , सबिता श्रेष्ठ र रिना श्रेष्ठ रहेका छन् ।
खाँडादेवि मिडिया ग्रुपको सहजिकरणमा भएको उक्त कार्यक्रममा मन्थली १ मा संचालनमा रहेका विभिन्न विद्यालयका १ सय ९० जना शिक्षकहरुको सहभागिता रहेको थियो । मन्थली नगरपालिका १ नम्बर वडाले गत बर्ष पनि वडा भित्र संचालनमा रहेका विद्यालयमा विद्यार्थी संग जनप्रतिनिधि विषयक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आफुलाई अध्ययनको सिलसिलामा विद्यालय, समाज र घरमा परेका कठिनाईहरुका बारेमा जनप्रनिनिधि र सरोकारवाला निकायका व्यक्तिहरुलाई माझ खुलेर आफ्ना कुरा राखेका थिए ।
