रामेछाप – दुर्घटना या अन्य कारणले हाडजोर्नी भाँचिएका विरामीले जिल्लामा शल्यक्रिया र उपचार नपाउदा लाखौं खर्चिएर काठमाण्डौं पुग्नु पर्ने बाध्यता छ ।
दुर्घटनाजन्य अधिकांश विरामी हवाईजहाज र हेलिकप्टर चार्टर गरेर राजधानीका महंगा अस्पतालमा पुग्ने गरेका छन् । घरायसी कामकाज र अन्य अवस्थामा दुर्घटनामा परेकाले पनि एम्बुलेन्स मार्फत काठमाण्डौंमा पुग्नैपर्ने बाध्यता टरेको छैन् । रामेछापबाट काठमाण्डौंका लागि हेलिकप्टर चार्टर गर्न झण्डै २ लाख रुपैया खर्च लाग्छ । एम्बुलेन्समा जादा पनि भूगोल अनुसार ८ देखि २० हजार सम्म खर्च लाग्छ ।
‘हाडजोर्नीको विरामी भएर पटक पटक काठमाण्डौं जानु पर्दा खाने बस्ने, यातायात र अस्पतालको महंगो शूल्कले हैरान भएको छु ’ नागदहका मानवहादुर बुढाथोकी भन्छन् – जिल्लामा सेवा उपलव्ध भए म जस्ता गरिवले काठमाण्डौं धाउनु पर्दैनथ्यो । काठमाण्डौंमा उपचार खर्च भन्दा पनि अस्पतालको बेड, शल्यक्रियाका लागि पालो पर्खने समस्या र कुरुवाको वसोवासका लागि धेरै चिन्ता हुने गरेको उनले गुनासो गरे । ‘काठमाण्डौं आफन्त नहुने विरामी जादा त्याहा भोग्नु पर्ने पिडा म व्यक्त गर्नै सक्दीन ’ लामा भन्छन् – जिल्लामै हाडजोर्नीको काम भइदिए सरकार भएको जस्तो हुन्थ्यो ।
जिल्ला अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउने र अन्य सामान्य शल्यक्रिया बाहेक अन्य शल्यक्रियाको सुविधा हाल सम्म उपलव्ध छैन । रामेछाप नगरपालिकाको समेत सहयोगमा शल्यक्रिया मार्फत सुत्केरी गराउन थालेको रामेछाप अस्पतालमा पछिल्लो अवधिमा अर्थोपेडिक सर्जनको समेत दरवन्दीमा चिकित्सक कार्यरत रहेका छन् । संयोजकले मेडिकल सुपरिटेन्डेन्ट समेत अर्थोपेडिक तर्फका आएकोले अव चाडै हाडजोर्निको शल्यक्रिया सेवा दिन थाल्ने योजना अस्पतालले बनाएको छ । जिल्ला अस्पतालमा शल्यक्रिया गर्नका लागि लट्याउने कार्य गर्ने सहायक एनेस्थेसियन समेत छन् । शरिर पुरै वेहोस गराएर शल्यक्रिया गर्नका लागि भने जनशक्ति छैन् । एनेस्थेसियन डाक्टरको दरबन्दी रामेछाप जिल्ला अस्पतालमा नभएकोले उक्त जनशक्ति व्यवस्थान नगरी पुरै बेहोस गराएर गरिने शल्यक्रिया जिल्लामा सम्भब हुदैन् । केहि गरी शल्यक्रिया गरेको विरामीलाई आईसियु र भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आईपरेमा एनेस्थेसियन डाक्टरको भूमिका महत्वपूर्ण हुन्छ ।
जिल्ला अस्पताल रामेछापका प्रमुख डाक्टर सागर जर्घामगरका अनुसार जिल्ला अस्पतालमा हाडजोर्नीको सेवा लिनका लागि धेरै विरामीहरु आईपुग्छन् । ‘हामीले हाडजोर्नीको समस्या लिएर आउने विरामीलाई प्राथमिक उपचार बाहेक अन्य सेवा दिन सकेका छैनौं ’ जर्घामगर भन्छन् – मंगलबार मात्र एक जना विरामी हाडजोर्नीको जटिल समस्या लिएर जिल्ला अस्पतालमा उपचारका लागि आईपुगेका थिए । ‘उहाँलाई काठमाडौं पठाएका छौ ’ जर्घामगर भन्छन् – मेरुदण्ड भाँचिएर आएका जटिल खालको समस्या लिएर उहाँ आउनु भएको थियो ।
जिल्लामा रहेको सुविधा सम्पन्न अस्पतालमा हाडजोर्नीको सल्यक्रिया नहुदाँ विरामीले काठमाण्डौ पुग्नै पर्ने हुन्छ । जिल्ला अस्पतालमा अहिले सम्म एक्सरे ,प्लाष्टर र प्लाष्टर तथा टांँका काट्ने बाहेकको काम हुदैन् । जिल्ला अस्पतालमा पहुंच नहुने उत्तरी र पश्चिमी रामेछापका विरामी सोझै राजधानीका अस्पताल पुग्ने गर्छन् । पालिकास्तरमा रहेका अस्पतालमा समेत प्लाष्टर गर्ने बाहेकका सुविधा छैनन् ।
जिल्ला अस्पताल रामेछापमा हाडजोर्नीको शल्यक्रियाका लागि आवश्यक सामान्य पूर्वाधार सवै पुगेका छन् । ‘मैले पनि केहि सामाग्री ल्याएको छु , सामान्य खालको शल्यक्रिया आजभोलीनै सुरु गर्न समस्या छैन्’ अस्पताल प्रमुख जर्घामगरले भने । एनेस्थेसियन साहायकले ढाँडमा सुई लगाएर अर्धबेहोस बनाएर गर्ने सवै शल्यक्रिया रामेछापमा गर्न अव कठिनाई छैन् । तर त्यसका लागि केहि समस्या पनि छन् । शल्यक्रिया गर्दा केहि गरी स्टिल राख्नुपर्ने अवस्था आईपरेमा रामेछापमा पाईदैन् । विरामी भर्ना गरेर एक वा दुई दिन पछि मात्र त्यस्तो सामान आएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर पहिले अरु अस्पतालमा शल्यक्रिया गराउदा राखिएका स्टिल झिक्ने कार्य र सामान्य तारहरु राखेर गर्ने शल्यक्रिया भने जिल्ला अस्पतालमा सहज हुनेछन् । ‘हामी चाडैंनै अर्थोपेडिकको शल्यक्रियाहरु सुरु गर्ने तयारीमा जुट्नेछौं ’ अस्पलात प्रमुख जर्घामगरले भने ।
२५ सैया क्षमताका पूर्वाधार भएपनि सरकारले जिल्ला अस्पताललाई अझै १५ सैया भन्दा माथि स्वीकृती दिएको छैन् । शाक्यका अनुसार ५० सैयाको अस्पताल नभै हाडजोर्नीको चिकित्सक दरवन्दी पाईदैन । चिकित्सकको दरवन्दी नभएको र दरवन्दी भएर पनि करारसेवामा आउने विशेषज्ञ चिकित्सकलाई जिल्ला अस्पतालमा टिकाउनका लागि अस्पताल व्यवस्थापनलाई धौ धौ छ । तनखाको हिसावले धेरै खर्चिला हुने त्यस्तो जनशक्ति टिकाउन स्थानीय सरकारको भर पर्नुपरेको अवस्था कयौं अस्पतालको छ ।
