रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेलाई दरखास्त दिन सूचना प्रकाशित गरेको छ ।
पार्टीको निर्देशन बमोजिम उमेदवारको सिफारिस गरी पठाउनु पर्ने भएकाले उक्त पदमा उमेदवार हुन चाहनेलाई आईतबार (आज ) दिउँसो १ बजे सम्म दरखास्त दिन भनिएको हो । दरखास्त विहान ८ बजे देखि दिन सकिने सूचनामा उल्लेख गरिएको छ । सूचना शनिबार अपरान्ह प्रकाशित भएको हो ।
सूचनामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको सदस्यका लागि महिला सहित ३ जना, समानुपातिकमा महिला सहित २ जना र राष्ट्रिय सभा सदस्यमा ३ जनाको नाम सिफारीस गर्ने व्यवस्था छ ।
पार्टी सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले हस्ताक्षर गरी प्रकाशित गरेको सूचनामा उमेदवारी दिनका लागि केहि शर्त समेत राखिएको छ । शर्त अनुसार पार्टीको लेबि चुक्ता गरेको, एक अवधि कुनै पनि तहमा उमेदवारी नहुने प्रतिबद्धता पत्र र प्रत्यक्ष तर्फ १५ हजार र अन्य दुई पदका लागि ५ हजार शूल्क समेत वुझाउनु पर्ने छ ।
उमेदवारी दिने व्यक्ति राष्ट्रियसभा, प्रदेश सभा र स्थानीय तहको कुनै पनि पदमा बहाल नभएको, मतदाता नामावलीमा नाम समावेश भएको र २०७९ मा समानुपातिकको बन्द सूचिमा नाम रहेको र पार्टीको क्रियाशिल सदस्य लिएको १० बर्ष नपुगेको व्यक्तिले उमेदवारी हाल्न नपाईने उल्लेख छ ।
पार्टीमा उमेदवार सिफारिका लागि यस अघी धेरैले आकांक्षा राख्ने भएकाले शूल्क र शर्त राखिएको बुझीएको छ । उमेदवारी सिफारीस गर्नुपर्ने भएकाले काँग्रेसको जिल्ला समितिका पदाधिकारीको बैठक, जिल्ला समितिको बैठक र समूह समूहमा अरु थुप्रै बैठकहरु हुन थालेका छन् ।
