रामेछाप । तामाकोशीमा अस्वाभाविक रुपमा पानी थपघट हुदाँ जेटबोट संचालनमा कठिनाई उत्पन्न हुने देखिएको छ । व्यवसायीक संचालनका लागि केहि दिन अघी मात्र स्थानीय युवाहरुले तामाकोशी नदीमा जेटबोट ल्याएका हुन् ।

तामाकोशी नदीमा संचालन गरी वेलुका किनारमा पानी माथि तैराएर राखिएको जेटवोट भोलीपल्ट विहान हुदाँ पानी घटेर बगर माथि हुने गरेको छ । त्यसो हुनुमा तामाकोशी नदीमा पानीको वहाब अस्वाभाविक रुपमा थप घट हुने गरेकोले हो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दिउँसोको समयमा तामाकोशीको पानी जलासयमा जम्मा गर्ने र रातीको समया विद्युत उत्पादनका लागि खोल्ने गर्नाले यसअघी पनि तामाकोशीमा पानीको वहाबमा अस्वभाविक असर हरु देखापर्दै आएका थिए । कहिले काँहि चितामा जलाईरहेका शवहरु बगाएका घटना घटेका थिए ।

राति विद्युत उप्पादनका लागि खोल्ने पानी दिउँसो मात्र तामाकोशीमा आईपुग्ने गर्छ । जव बेलुका हुन्छ , तामाकोशी फेरी सानो हुन्छ । दिउँसो पानी बन्द गर्दा नदी बेलुका सानो हुने गरेको स्थानीयले वताएका छन् । लामाबगर देखि बगेर आउदा दिउँसो तिर बल्ल नदीमा पानी बढी हुन्छ, बेलुका सुक्दै जान्छ ।

नदीमा पानी तल माथि हुनेभएकाले जेटबोट संचालनमा भन्दा पनि बेलुका राख्नका लागि स्थायी रुपमा पानी हुने स्थानको खोजि हुन थालेको छ । तामाकोशी थपघट हुदाँ पनि जेटवोट निकाल्नका लागि खासै अप्ठेरो नहुने स्थानको खोजि गरी पोर्ट स्थापना गर्ने व्यवसायीहरुले जनाएका छन् ।