रामेछाप । रामेछापको मन्थली नगरपालिका ५ नम्बर वडा सुनारपानीमा नबनिर्मित वडा कार्यालय भवनको बिहिबार उद्घाटन गरिएको छ । मन्थली नगरपालिकाको आर्थिक श्रोत परिचालन गरी निर्माण भएको उक्त भवनको मन्थली नगरपालिकाका प्रमुल लब श्रेष्ठले उद्घाटन गरेका हुन् । उनले भवनको शिलालेख अनावरण गर्नुको साथै झण्डोत्तोलन समेत गरे ।

वडा अध्यक्ष रबिन कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नागरिकको सेवा सहज ढंगले प्रवाह गर्नका लागि वडा भवनले सहयोग पुग्ने वताए । श्रेष्ठले मन्थली नगरपालिका सवै वडा कार्यालयका भवन निर्माण गरी नागरिकलाई सोहि भवन बाट सवै प्रकारका सेवा दिन कटिवद्ध रहेको वताए । भौतिक सुविधा सगैं वडा बाट सर्वसाधारण नागरिकलाई छिटो छरितो सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो । मन्थली नगरपालिकाले १४ मध्ये १२ वटामा वडा कार्यालयको भवन निर्माण सम्पन्न गरिसकेको छ । वडा नम्बर ६ भलुवाजोर र वडा नम्बर १२ गेलु सिक्रालमा वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको छ ।कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय स्तरमा भए गरेका कार्यको समिक्षा गर्दै नगरपालिका र वडा कार्यालयहरुलाई विभिन्न सुझावहरु दिएका थिए ।

मन्थली नगरपालिकाको १ करोड ९ लाख ८८ हजार ५ सय ७४ रुपैयाँको लागतमा निर्माण भएको उक्त वडा भवनमा निर्वाचित पदाधिकारी तथा विषयगत फाँटका कर्मचारी र सेवा ग्राहिका लागि प्रयात्त स्थान उपलव्ध हुने जनाइएको छ ।