रामेछाप । सिन्धुलीबाट बिपी राजमार्ग हुदै रामेछाप सम्म चौध चक्के सम्म्मका मालवाहक सवारी साधन संचालनको माग गर्दै रामेछाप उद्योग वाणिज्य संघले बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको छ । अहिले उक्त सडक खण्डमा ६ चक्के मालबाहक साधन मात्र संचालन गर्न दिइएको छ ।
रामेछापको हिलेदेविमा आयोजित एक कार्यक्रममा सहभागि हुन आएका मन्त्री घिसिङलाई भेटेर संघका अध्यक्ष नविनकुमार थापामगर लगाएतका पदाधिकारीले सो ज्ञापन पत्र वुझाएका हुन् ।
तराईका खाद्यान्न तथा निर्माण सामाग्री उत्पादक उद्योगहरुबाट लोड भएका ठुला मालवाहक साधन सिन्धुली प्रशासनले रामेछाप तर्फ गुड्न नदिदा बर्षौ देखि रामेछापेले उद्योगी व्यवसायी तथा नागरिक दोहोरो मारमा पर्दै आएका छन् ।
उद्योग तथा होलसेल व्यवसायीको गोदाम बाट लोड भएको सामान सिन्धुलीमा झार्नुपर्ने, सिन्धुलीमा गोदाम भाडामा लिनुपर्ने अनि साना मालवाहक साधन खोजेर पल्टि गर्दै मालसामान पठाउनु पर्ने बाध्यता हाल व्यवसायीहरुलाई पर्दै आएको छ । यसो हुदाँ ढुवानी ज्याला र गोदाम भाडा महंगो पर्ने मात्र नभै भनेको बेलामा सामान ढुवानी गर्न कठिनाई बेहोर्नु परेको छ । सरकारले सडकमा कडाई गर्दा व्यवसायी ढुवानी व्यवस्थापन र विचमा हुने सामाग्री चुहावटमा परीरहेका छन् भने उपभोक्ता थप महंगीमा पर्दै आएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघले बर्षौ देखि सिन्धुली देखि मन्थली सम्मको सडकमा १० देखि १४ चक्के ढुवानीका साधन गुड्न दिनु पर्ने अडान राख्दै आएको छ । सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गराउदै आएका उद्योगी व्यवसायीको समस्या भने अहिले सम्म जस्ताको तस्तै छ ।
बिहिबार मन्त्री घिसिङलाई भेटेर समस्याको अवगत गराएको र उहाँले समस्याको बोध गरी समस्याको समाधानको लागि तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले वताए । ‘मन्त्री घिसिङ यो समस्या सुनेर बढी गम्भिर भएको पाएका छौं ’ अध्यक्ष थापामगरले भने – आशा छ, बर्षौ देखि कसैले नसुनेको रामेछापका उद्योगी व्यवसायी र नागरिकको गुनासो संवोधन हुनेछ । उनले व्यवसायीहरुको माग बढी महत्व दिएर माथिल्लो तहमा नितिगत सुधार गर्नुपर्ने भए त्यसो समेत गर्ने आश्वासन दिएको व्यवसायीहरुले जनाएका छन् ।
सरकारले बिपी राजमार्गको सिन्धुली खुर्कोट खण्ड साँघुरो भएकाले ठुला मालवाहक साधन संचालन गर्न दिदा सडकमा सवारी साधनको दुर्घंटना हुन थालेपछि रोकेको थियो । १० चक्के र सो भन्दा माथिका ढुवानीका साधन रोकिदा १० टन मालसामान बोकेर गुड्ने ढुवानीका साधनलाई पनि सरकारले सिन्डीकेट लगाएको छ । रातिको समयमा मात्र उक्त सडकमा मालसामान बोकेका ढुवानी साधन गुड्ने गरी समय तालिका दिइएको छ । विहान ५ बजे पछि र राति ८ बजे सम्म खुर्कोट सिन्धुली खण्डमा मालसामान बोक्ने ट्रकले प्रवेश पाउदैनन् । ‘यो अन्याय रामेछाप र दोलखा तर्फका ढुवानी व्यवसायीहरुले खेप्दै आएका छन् ’ ढुवानी व्यवसायी मिनवहादुर श्रेष्ठ भन्छन् – रातको समयमा मात्र गुड्न दिने भएकाले दुई दिनमा १ टिप भन्दा सामान ढुवानी गर्न कठिनाई हुने गरेको छ । रातिको समयमा सामान ल्याउने ट्रकहरु रातिनै मन्थलीमा सामान झारेर फेरी सिन्धुली पुग्ने अवस्था नभएकाले दुई दिनमा एक टिप भन्दा सामान ल्याउन नसक्ने बाध्यतामा छन् । सजह यात्रा गर्न दिएको भए हरेक दिन एक टिप सामान मन्थली सम्ममा झार्ने अवस्था हुन्थ्यो श्रेष्ठले वताए ।
