रामेछाप । दोलखाको सिप्रिङ खोला जलविद्युत केन्द्रका कर्मचारी पेशागत माग राखि आन्दोलनमा उत्रिएका छन् । आधारभूत तलब ५० प्रतिशत वृद्धि गर्नुपर्ने, कर्मचारी विनियमावली निर्माण गर्नुपर्ने, स्थायी नियुक्ति पाउनुपर्ने र तह निर्धारण हुनुपर्ने माग राखेर कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
जायज माग पूरा गर्न दबाब दिँदै कर्मचारीहरूले शुक्रबारदेखि कार्यस्थलमा कालोपट्टि बाँधेर काम सुरु गरेका छन् । ‘सिप्रिङ खोला जलविद्युत केन्द्रको प्रवद्र्धक सिनर्जी पावर डेभेलपमेन्ट लिमिटेडलाई १० दिनअघि नै माग पेस गरेकाले पूर्वनिर्धारित कार्यक्रमअनुसार विरोध सुरु गरेका छौँ,’ आन्दोलनरत कर्मचारी विनेद श्रेष्ठले भने । माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी उनले दिए ।
विद्युत उत्पादक प्रवर्द्धक कम्पनीले भने कर्मचारीले राखेका सबै माग यस अघीनै पूरा गरिसकेको दाबी गरेको छ । कर्मचारीको तहगत व्यवस्था गरेर नै सेवासुविधा उपलब्ध गराउँदै आएको, विनियमावली अनुसार नै कर्मचारी व्यवस्थापन गरेको कम्पनीले जनाएको छ ।
९ दशमलव ६ मेगावाटको जलविद्युत् केन्द्र सञ्चालन गर्दै आएको सिप्रिङ खाेला जविद्दुत आयोजनाले १२ वर्षदेखि विद्युत् उत्पादन हुँदै आएको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको सो आयोजना २०७२ सालको विनासकारी भूकम्पमा क्षतिग्रस्त भएको थियो । पछि पुननिर्माण गरी संचालनमा ल्याइएको उक्त आयोजनाको विद्दुत नेपाल विद्दुत प्राधिकरणले खरिद गर्दै आएको छ ।
