रामेछाप । रामेछाप र दोलखाका केहि भागमा विद्युतिकरण गरेको खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाले विद्युतको महसुल भुक्तानी लिनका लागि अनलाईन सुविधा नदिएको भन्दै गेलुका संजय बुढाथोकी संस्थाको कार्यालय दोलखाको किर्नेमा अनसन बसेका छन् । उनले आईतबार अनसन थालेका हुन् ।

झण्डै १२ हजार घरधुरीमा विद्युत पु¥याएको उक्त सहकारी संस्थाले विद्युतको महसुल हाल सम्म विभिन्न काउण्टर मार्फत संकलन गर्दै आएको छ । ग्रामिण क्षेत्रमा विद्युतको महसुल भुक्तानी गर्न दिन माया मारेर काउण्टरमा पुग्नु पर्ने बाध्यताको अन्त्यका लागि ग्राहकहरुले केहि अघी देखिनै अनलाईनबाट भुक्तानी हुने व्यवस्थाको माग गर्दै आएका थिए । तर संस्थाले हाल सम्म पनि उक्त व्यवस्था नगरेको भन्दै बुढाथोकी अनसनमा बसेका हुन् । माग तत्काल पुरा नभए आमरण अनसनमा बस्ने चेतावनी उनले दिएका छन् ।

खिम्ती १ जलविद्युत आयोजनाको निर्माणको चरणमा उत्पादन थालिएको दोलखाको झाँक्रे लघु जलविद्युत आयोजना र हिमाल पावर लिमिटेडले उत्पादन गरेको रामेछापको हलुवा खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत आयोजनाहरु सहकारी संस्थालाई हस्तान्तरण गरीएको थियो । उक्त दुवै आयोजनाहरुको संचालन र व्यवष्स्थापन हाल सहकारी संस्थाले गर्दै आएको छ । बर्षामा बढी भएको विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्ने र हिउँदमा नपुग विद्युत विद्युत प्राधिकरणबाट खरिद गर्ने उक्त संस्थाले हालका हरेक वडा केन्द्रमा काउण्टर राखेर मिटर रिडिङ र महसुल बुझ्ने गर्छ ।

खिम्ती खोलाको आसपासमा रहेका र आयोजना निर्माणको चरणमा वातावरणिय प्रभाव पर्ने रामेछापको रस्नालु, बेताली, नामाडी, फर्पु, खिम्ती, फुलासी र गेलुको झण्डै आधा भागमा संस्थाले वितरण गरेको विद्युत उपयोग हुदै आएको छ । त्यसैगरी दोलखाको तामाकोशी गाउँपालिकामा पर्ने शहरे, हावा, च्यामा र ठुलो पाताल लगाएतको क्षेत्रमा पनि उक्त संस्थाले विद्युत उपलव्ध गराउदै आएको छ । उक्त स्थानमा नेपाल विद्युत प्राधिकरणले आफ्नो प्रशारण लाईन पु¥याएको छैन् ।

संस्थाका अध्यक्ष नानीबाबु बस्नेतका अनुसार संस्थामा आवद्ध सवै सदस्यहरुको केवाईसी अपडेटको काम थलिएकोले अनलाईन पद्धतिमा लैजान केहि ढिलाई भएको वताए । उनले वडा केन्द्रमा रहेका काउण्टर मात्र नभै मिटर रिडिङ गरेकै बखत पनि महसुल घरमै लिने गरीएकोले ग्राहकहरुलाई त्यति धेरै समस्या नपरेको वताए । अनसन बसेको जानकारीमा आएकोले सोमबार वार्ता गरी सहमति गर्ने तयारी रहेको पनि बस्नेतले सोमबार विहान भएको कुराकानीका क्रममा जनाएका छन् । उनले स्थानीयको माग संवोधनका लागि तयार भएपनि त्यसका लागि केहि समय लाग्ने अवस्था रहेको वताए ।