रामेछाप। उमाकुण्ड गाउँपालिकाको सहकार्यमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले उमाकुण्डको प्रीतिमा सञ्चालन गरेको एक दिने आयुर्वेदिक स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य परिक्षण र उपचार सेवा लिएका छन् ।
शनिबार सञ्चालन भएको शिविरमा रक्तचाप, सुगर सहित विभिन्न रोगको परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिएको थियो । आयुर्वेद चिकित्सक डा. अच्युत रिमाल नेतृत्वको टोलीले शिविरमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले चिकित्सालयले जिल्लाका सबै स्थानीय तहमा स्थानीय तहसँग सहकार्य गरी शिविर सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएका थिए । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले अहिले आयुर्वेदिक उपचार पद्धतिबाट धेरै रोग नियन्त्रण र निवारणमा सहयोग पुगेकोले गाउँपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसँग सहकार्य गरी शिविर आयोजना गरिएको जनाए ।
