रामेछाप । रामेछाप जिल्लामा ६ हजार भन्दा बढी मतदाता थपिने भएका छन् । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने संघीय संसद प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता र अद्याबधिकको लागि दिएको समय सिमा सकिदा उक्त मतदाताहरु थपिएका हुन् ।

जिल्ला निर्बाचन कार्यालय रामेछापका अनुसार कार्यालयमा आफै आएका १ हजार २ सय ३५ जनाले नाम दर्ता गराएका छन् भने अनलाईनबाट नाम दर्ता गर्नेको संख्या ४ हजार ९ सय छ । कुल यस पटक ६ हजार १ सय ३५ जना मतदाताहरु थपिने भएको कार्यालयले जनाएको छ । यद्यपी मतदाताहरुको विवरण परिक्षण गरी अन्तिम मतदाता नामावली निर्वाचन आयोगले प्रकाशन नगरुन्जेल संख्या एकिन भने हुदैन् ।

कार्यालयका अनुसार यस अघी रामेछाप जिल्लामा कुल १ लाख ८१ हजार ६ सय १४ जना मतदाता कायम रहेका थिए । त्यसमध्इे ८८ हजार ५ सय ८५ जना महिला र ९३ हजार २९ जना पुरुष रहेको कार्यालयले जनाएको छ । हाल अनलाईन र कार्यालयमा नाम दर्ता गएका मतदाताहरुको नाम सवै थपिएको अवस्थामा जिल्लाको कुल मतदाताको संख्या १ लाख ८७ हजार ७ सय ४९ पुग्ने भएको छ ।