रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिबार मन्थलीमा बृहत प्रदर्शन गरेको छ । एमालेले साे कार्यक्रम लाई शक्ति प्रदर्शन समेत भनेकाे छ । 

रामेछापका ८ वटै पालिकाबाट आएका एमाले कार्यकर्ताहरुले वर्तमान सरकारका विरुद्ध चर्का नारा लगाउदै बजार परिक्रमा गरी स्थानीय देबकोटाचोकमा सभा गरेका थिए । बजारमा सयौं मोटरसाईकल सहितको जुलुस निकालिएको थियो ।

सभामा एमाले पोलिटव्यूरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कमलप्रसाद चौलागाई, केन्द्रीय सदस्य गीता कार्की, बागमति प्रदेश कमिटिका अध्यक्ष कैलाशप्रसाद ढुंगेल, बागमति प्रदेश सभा संसदीय समितिका सभापति आनन्द श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया र विद्यार्थी नेता सुशिल थापाले संबोधन गरेका थिए ।

संवोधनका क्रममा नेताहरुले बर्तमान शुशिला कार्कीको सरकार असम्बैधानिक भएकोले संसद पुनस्थापना एक मात्र विकल्पको रुपमा रहेको औंलाए । भदौ २३ र २४ गतेको घटनामा देशी विदेशी शक्तिको घुसपैठ भएको र त्यसले राष्ट्रलाई ध्वस्त पार्ने काम गरेको जनाए । जेनजीको हात बाट मुलुक जलेको नभै राष्ट्रविरोधि, नागरिक र राष्ट्रिय सम्पत्ति ध्वस्त पार्ने षडयन्त्र बाह्य शक्तिबाट भएको बक्ताहरुले वताएका थिए । बर्तमान अवस्थामा मुलुक निर्वाचनमा जान नसक्ने भन्दै त्यसका लागि सुरक्षाको प्रत्याभुति र वातावरण नभएको उनीहरुले जिकिर गरे ।