रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण बढ्न नदिनका लागि मंसिर १ गते सम्मलाई गाउँपालिका भित्रका सबै ४२ वटा विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
केहि दिन देखि उमाकुण्डका विभिन्न भागमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, जिउ दुख्ने, रुघाँखोकी लाग्ने जस्ता संक्रमण तिब्र रुपमा फैलिएको छ । उक्त रोगबाट विरामी परेका स्थानीयहरु स्वास्थ्य संस्थामा उपचारका लागि खचाखच भएका छन् ।
गाउँमा संक्रमण फैलिएपछि विद्यालयको अवलोकनका लागि बिहिबार पुगेका गाउँपालिकाका अधिकारीहरुले बालबालिका पनि उक्त संक्रमण देखेपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हुन् ।
उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुभजीत सुनुवारका अनुसार संक्रमण फैलनबाट रोक्नका लागि विद्यालय बन्द गर्नुपरेको हो । गाउँपालिका र स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सावधानी अपनाउने बारेमा सूचना जारी गरीरहेका छन् । सुनुवारका अनुसार गएको सोमबार र मंगलबार तिव्र रुपमा देखा परेको संक्रमण अहिले केहि घटदो अवस्थामा रहेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले स्थानीय बासिन्दाहरुलाई संक्रमणबाट बच्ने उपायहरुका बारेमा सूचना जारी गरेको र संक्रमणका लक्षणहरु देखा पर्ना साथ स्वास्थ्य संस्थामा उपचारका लागि आउन आग्रह गरेको छ ।
