रामेछाप । गत बर्ष सुनकोशी नदीमा आएको बाढीले बगाएको खैरेनीघाट पुल फेरी संचालन गर्ने तयारी गरिएको छ । सडक विभागले उक्त पुल भएको स्थानमा बेलिब्रीज जोड्ने प्रकृया अघी बढाएको हो । बाढीले रामेछाप तर्फको आधा भाग लगेको र सिन्धुली तर्फको केहि भाग बाँकी राखेको थियो । अहिले बाँकी भागमा बेलिब्रीज जोडेर यातायात संचालन गर्ने तयारी भएको हो । बेलिव्रिज राख्ने स्थान सम्म रोशीको बाढीले क्षति गरेको स्थानमा सडक निर्माण थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्ती भएको केहि दिनमा विपी राजमार्गको अवलोकन गर्न आएका कुलमान घिसिङले खैरेनीघाटमा बेलिव्रिज राख्न निर्देशन दिएका थिए । खैरनीघाटको पुल बगेपछि पश्चिमी रामेछापको दक्षिणपूर्वि क्षेत्रमा वसोवास गर्ने सर्वसाधारणलाई आवागमनमा सास्ती वेहोर्नु परेको छ । सुनापति गाउँपालिकाको गुन्सी बाहेकका अरु वडा, दोरम्बा शैलुंग गाउँपालिकाको केहि भाग र खाँडादेविको राकाथुम र खाँडादेवि क्षेत्रका बासिन्दालाई काठमाडौं आउजाउ गर्न अहिले सिन्धुुरेटारको पुल तरेर विपी राजमार्गमा निस्कने या तिमालको सडक हुदै भकुण्डे पुग्नुपर्ने बाध्यता छ । तिमालको सडक जोखिमयुक्त रहेकोले त्यस तर्फको यात्रा गर्न नमान्ने धेरै छन् ।


मझुवा, गागल क्षेत्र, पकरवास माकादुम र भिरपानीका बासिन्दा भने सित्खाको पुल भएर आवागमन गर्दै आएका छन् । गत बर्षकै बाढीले लगेको सुनकोशीको खुर्कोट पुलमा भने आधा भाग गत बर्षनै बेलिब्रीज राखेर यातायात संचालन गराइएको थियो । खुर्कोटले काठमाडौं र तराईलाई रामेछापको जिल्ला सदरमुकाम छोटो दुरीमा जोड्ने काम गरेको छ । उक्त पुल जिल्लाका लागि लाईफलाईनको रुपमा रहेको छ ।