काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौको धावनमार्गको विद्युत विग्रदा शनिबार साँझ उडान र अवतरण प्रभावित भएका छन् । विमानस्थलको लाईटिङ बिग्रदा दर्जनौ उडान र अवतरण हुन सकेका छैनन् ।
आन्तरिक र बाह्य दुवै तर्फका केहि जहाजलाई घण्टा भन्दा बढी समय देखि बारा, हेटौडा भन्दा माथिको आकाशमा होल्ड गराईएको छ । जहाजले धेरै फन्को मार्दा पनि अवतरणका लागि कुनै संकेत नपाएपछि डाइभर्ट हुन थालेका छन् ।
आन्तरिक उडानमा रहेको बुद्ध यएरको सुर्खेत बाट काठमाडौं आएको जहाज पोखरा डाईभर्ट भएको छ । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्धकै जहाज फेरी जनकपुर फर्किरहेको छ । भैरहवाबाट काठमाडौंका लागि उडेको जहाज जनकपुरमा अवतरण गरेको छ । ति तिन वटै जहाजले आकाशमा धेरै फन्का मारेर काठमाडौं अवतरणको प्रतिक्षा गरेका भएपनि काठमाडौं विमानस्थलको लाईट मर्मत कार्य नभएकोले डाईभर्ट मागेका थिए ।
अन्तराष्ट्रिय तर्फ कोरीयाबाट आएको कोरियन एयर, दोहा बाट आएको कतार एयर र दुवई बाट आएको फ्याई दुवई पनि अवतरणका लागि लामो प्रतिक्षामा थिए । धेरै बेर आकाशमा विताएका ति जहाजहरु मध्ये कोरियन एयर भारतको लखनउ तर्फ डाईभर्ट भएको छ । अरु दुई वटा आकाशमै फन्को मारिरहेका छन् ।
बिग्रीएको लाईटिङ सिष्टमको मर्मत थालिएपनि पुरा नभएकाले अवतरण मात्र हैन, उडानहरु समेत हुन सकेका छैनन् । विमानस्थलमा केहि अन्तराष्ट्रिय सेक्टरमा उडानका लागि जहाजहरु तयारी अवस्थामा रहेको देखिन्छन् । राती अबेर सम्म हुने आन्तरिक उडान समेत प्रभावित भएका छन् । विमास्थल कार्यालयले धावनमार्गको लाईटिङ मर्मतको काम भइरहेको जनाएको छ ।
