रामेछाप । पाच बर्ष अघी जिल्लाका व्यवसायीहरुको मागका आधारमा रामेछापको मन्थलीमा स्थापना भएको करदाता सेवा कार्यालय खारेज भएको छ ।
करदाता सेवा कार्यालयले सम्पादन गर्दै आएको काम स्थानीय तहलाई जिम्मा लगाउदै सरकारले उक्त कार्यालय खारेज गरेको हो । स्थानीय तहले सेवा संचालनका लागि दक्ष जनशक्ति तयार नपारुन्जेलका लागि भने साविककै कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्ने व्यवस्था मिलाएको छ ।
करदाता सेवा कार्यालयले स्थायी लेखा नम्बर जारी गर्ने, करचुक्ता दिने, उद्धेश्य थप गर्ने र आकस्मिक बजार अनुगमन गर्ने काम गर्ने गर्दथ्यो । रामेछापका ठुला करदाताको काम भने काभ्रे स्थित आन्तरिक राजश्व कार्यालयले गर्ने गरेको थियो ।
जिल्लामा रहेको कर सम्बन्धि सेवा र व्यवसायीलाई सल्लाह गर्ने कार्यालय खारेजीमा परेपछि व्यवसायीहरुले चिन्ता प्रकट गरेका छन् । कार्यालय खारेजी भएको कुरा राम्रो हैन, बरु ठुला करदाताको काम समेत त्यहि निकायलाई दिएर कार्यालय यथावत राख्नुपर्ने धारणा व्यवसायीहरुको छ । सरकारले रामेछाप सहित ३९ कार्यालय खारेज गरेको हो । सरकारले खर्च नियन्त्रण गर्नका लागि उक्त कार्य गरेको जनाएको छ ।
