रामेछाप । खराव मौसमका कारण शुक्रबार पनि रामेछाप देखि लुक्लाको उडान हुन सकेका छैनन् । शुक्रबार अपरान्ह सम्म रामेछाप देखि लुक्ला र लुक्ला देखि रामेछापका उडान हुन सकेका छैनन् ।

लुक्ला र मन्थली मात्र नभै हवाई मार्गको मौसममा सुधार नभएकोले उडान हुन नसकेको रामेछाप नागरिक उडड्यन कार्यालयले जनाएको छ । हेलिकप्टर समेत शुक्रबार नउडेपछि लुक्ला र रामेछाप दुवै स्थानमा विदेशी पर्यटकहरु रोकिन बाध्य छन् ।

जल तथा मौसम विज्ञान विभागले शनिबार सम्मै मोन्था चक्रवातको कारण बर्षा हुने जनाएकोले रामेछाप लुक्ला सेक्टरको उडान शनिबार समेत प्रभावित हुने देखिएको छ । यो सिजनमा विदेशी पर्यटकहरुलाई लक्षित गरी प्राधिकरणले रामेछाप विमानस्थलबाट लुक्लाका अधिकांश उडान गर्दै आएको छ । सरद ऋतुमा सगरमाथा आधारशिविर तर्फ जाने पर्यटकहरु लुक्ला जान हवाई मार्गमानै भर पर्ने गरेका छन् ।