रामेछाप । सरद ऋतुका लागि सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरुका लागि लक्षित हवाई उडान रामेछाप विमानस्थलबाट सुरु भएको छ ।
काठमाडौं विमानस्थलबाट लुक्लाका लागि उडान गर्न हवाई चापका कारण असहज हुने भएकाले नेपाल नागरिक उडड्यन प्राधिकरणले केहि बर्ष देखि बर्षका दुवै सिजनमा रामेछाप विमानस्थलको प्रयोग गरी लुक्लाका उडान गर्दै आएको छ । यो सिजनको उडान पनि त्यहि श्रृंखला हो ।
काठमाडौंबाट सडक मार्ग हुदै रामेछाप सम्म आउने पर्यटकहरु रामेछाप देखि लुक्लाको उडानमा त्यसतर्फ जाने र फर्कदा पनि सोहि रुटको प्रयोग गर्ने गर्छन् । रामेछाप विमानस्थलबाट सवै मौसममा उडान र अवतरणका लागि योग्य हुनु, हवाई चाप नहुनु र काठमाडौं भन्दा आधा हवाई दुरी छोटो हुने भएकाले लुक्लामा धेरै पर्यटकहरुलाई एकै दिन पु¥याउन सक्ने जनाइएको छ ।
निजी क्षेत्रका हवाई कम्पनी सीता, तारा र समिट एयरले केहि बर्ष देखि रामेछाप विमानस्थलमानै विमानहरु पार्किङ गरी विहान ६ बजे देखिनै उडान थाल्ने गरेका छन् । विहान लुक्ला तर्फको मौसम सफा हुने भएकाले अधिकांश उडान मध्यान्ह भन्दा अघीनै हुने गरेका हुन् । मध्यान्ह पछि लुक्ला बादलले ढाकिने भएकाले उडान प्राय हुन सक्दैनन् । सोमबार तीनै वटा हवाई कम्पनीका जहाज हरुले रामेछापबाट लुक्लाका लागि केहि उडान र अवतरण गरेका थिए ।
पर्यटक आउने मूख्य सिजनमा झण्डै २ महिना सम्म रामेछाप केन्द्रीत उडान हुन्छन् । त्यसपछि रामेछाप विमानस्थल अर्को सेक्टेम्बरको सिजन सम्म बन्द रहन्छ । रामेछाप बाट काठमाडौंका लागि सातामा कम्तिमा एक उडान संचालन गर्नका लगि बर्षौ देखि माग भएपनि हवाई कम्पनीहरु मानिरहेका छैनन् । डलर आउने सेक्टरमा मात्र उनीहरुका उडान केन्द्रीत हुने गरेका छन् ।
