रामेछाप । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले ओसिनिया क्षेत्रमा पर्ने इण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) सफलतापूर्वक आरोहण गरेका छन् ।
स्थानीय समय अनुसार आइतबार बिहान ९ः३० बजे पाण्डेले सो शिखर आराेहण गरेका हुन । पाण्डे रामेछापको लिखु तामाकोशी ७ निवासी हुन् । ‘कास्ट्रेन्स्ज पिरामिड’ आरोहणको लागि पाण्डे सोमबार काठमाडौँबाट प्रस्थान गरेका थिए ।
४ हजार ८ सय ८४ मिटर अग्लो कास्ट्रेन्स्ज पिरामिड आकारको चुनढुङ्गा भएको शिखर हो । उक्त शिखर आरोहण गर्न जोखिमपूर्ण मानिन्छ । इण्डोनेसियाको पपुवा प्रान्तमा रहेको सो शिखर सेभेन समिटमा समावेश गरिएको छ ।
पाण्डेले विश्वका सबै महादेशका सर्बोच्च शिखर आरोहणको अभियानमा सो शिखर चढेका हुन् । सो अभियानमा उनले सगरमाथा एलब्रस किलिमान्जरो एकोन्कागुआ जस्ता हिमाल आरोहण गरिसकेका छन् ।
