रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा मन्थलीमा सुरक्षित ऋण लगानी, धितो मूल्यांकन तथा विश्लेषण तालिम सुरु भएको छ ।

दुई दिन सम्म संचालन हुने उक्त तालिमको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा श्रेष्ठले मन्थली नगरपालिकाले सहकारी संस्थाहरुको गतिविधि हेर्ने गरी नगरपालिकाले जिम्मेवारी प्रदान गरेर कर्मचारी व्यवस्थापन गरिसकेको वताए ।

नगर प्रमुख श्रेष्ठले ऋण लगानी गर्दा सम्बन्ध र नजिकको नाममा भन्दा पनि धितोको उचित मूल्यांकन गरेर मात्र लगानी गर्न आग्रह गर्दै ऋण लगानी गर्दा धितो लाई मात्र हैन् आयआर्जनको हिसावमा गर्न सकियो भने ऋण उठाउन सहज हुने वताए । उनले हचुवाको भरमा गरेका लगानी डुब्दै गएको भन्दै त्यसको जिम्मेवार संचालकहरुले हुनु पर्ने कुरा उल्लेख गरे । सहकारीमा ऋण लगानी सहज हुने नाममा जथाभावि गर्नु नहुने वताए । विधिले सहकारी नियमन गर्नुपर्ने भन्दै माया दया र भावनामा चल्नु नहुने नगर प्रमुख श्रेष्ठको भनाई थियो ।

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहालको अध्यक्षतामा भएको उक्त तालिममा संघका उपाध्यक्ष नविन घिमिरे र जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी संस्था र यसमा देखिएका चुनौतिका विषयहरुमा आ आफ्नो धारणा राखेका थिए ।

तालिम कार्यक्रममा संघमा आवद्ध जिल्लाका ३० वटा सहकारी संस्थाका ३५ जनाको सहभागिता रहेको छ । उक्त तालिममा नबराज घोरासाईनेले प्रशिक्षण दिइरहेका छन् ।