पाेखरा — नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व मतदानबाटै टुंगिने अवस्थामा पुगेको छ । वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी पोखरामा जारी १० औं महाधिवेशनबाट अध्यक्ष बन्ने दौडमा उभिएका छन् । यसअघी पार्टीले सर्वसम्मत गराउनका लागि गरेकाे प्रयास सफल भएन ।
थेबेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई एमालेमा विकास भइरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले साथ दिएको छ । थेबेलाई एक कार्यकाल दोहोर्याउने, बाँकी आकांक्षीलाई पार्टीको केन्द्रीय कमिटी र भूगोलको राजनीतिमा जिम्मा दिने ओलीको चाहना थियो ।
अन्य पार्टीमा जसरी झगडा नगर्न, युवा संघमा नहुनेलाई पार्टीमा जिम्मेवारी दिने विषय गत शुक्रबार आयोजित उद्घाटन सत्रमै अध्यक्ष ओलीले खुलेर आग्रह गरेका थिए । आफ्नो इच्छा बुझेपछि थेबेविरुद्ध अरू नउत्रने ओलीको सोच थियो ।
युवा संघको निर्वाचन गराउन एमाले जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, युवा संघ इन्चार्ज एवं पूर्वाध्यक्ष राजीव पहारी, पूर्वअध्यक्षहरू महेश बस्नेत, निरुदेवी पाल, किरण पौडेल दुई दिनदेखि निरन्तर खटिएका थिए । अन्य सबै आकांक्षीले ओली चाहना बुझेर दाबी छोडे पनि पुरीले अध्यक्षमा लड्ने अडान छोडेनन् । नेताहरूले थेबेलाई र पुरीलाई आधा–आधा कार्यकालको प्रस्ताव पनि गरेका थिए ।
४० वर्षे उमेर हदले पूरा कार्यकाल चलाउन नपाउने भएपछि पुरीलाई भूगोलको राजनीतिमा क्रियाशील हुन नेताहरूको सुझाव थियो । दुई पटक उपाध्यक्ष, एकपटक महासचिव भएकाले अध्यक्ष पाउनुपर्ने उनले नेताहरूलाई बताइरहे । आइतबार बिहानसम्म पनि पुरी पछि नहटेपछि चुनाव हुने पक्का भएको हो ।
दुवै पक्षले निर्वाचनमा सहभागी हुन प्यानल नै तयार पारिसकेका छन् । अध्यक्ष, दुई खुला उपाध्यक्ष, महासचिव, उपमहासचिव, दुई खुला सचिव, मधेश र महिला सचिव गरी ९ पदाधिकारी, आयोग पदाधिकारी र सदस्यसहित १ सय ६३ पदका लागि निर्वाचन हुनेछ ।
थेबे प्यानलबाट उपाध्यक्षमा विनय शाह र महाराज गुरुङ, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही उम्मेदवार छन् । पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् ।
