रामेछाप । हेर्दा सानो तर गह्रौ न गह्रौ । महाभारत युद्धकालिन अवस्थामा भिमसेनले प्रयोेग गरेको गदाको अवषेश खाँडादेवि ४ रजगाउँमो भिमसेन मन्दिरमा अहिले पनि जस्ताको तस्तै छ ।

मन्दिरमा दर्शन गर्न जानेहरु यो गदा बोकेर मन्दिरको फेरो मार्ने गर्छन् । दमका विरामीहरु यो गदा बोकेर मन्दिरको फेरो मार्दा निको हुने जनविश्वास छ । सानो देखिएपनि बोक्न हम्मेहम्मे पर्ने उक्त गदा पुरै फलामको हो ।

भिमसेनमन्दिरमा रहेका दुईटा गदाका अवषेश मध्ये एउटा सानो छ, जुन मन्दिर भित्र त्रिशुल सगैं गाडिएको छ । अर्को ठुलो गदा भाँचिएको टुक्रा सहित मन्दिरको कुनामा ठड्याइएको छ । त्यसलाई दर्शनार्थीहरु पुजा अर्चना गर्ने गर्छन् ।

कथन अनुसार हालको रजगाउँ त्यस बेला राजाहरुको बसोवास भएको क्षेत्र हो । राजागाउँ राजागाउँ भन्दा भन्दै रजगाउँ रहन गएको स्थानीयको भनाई छ । तामाकोशीको किनारको यो वस्ती भन्दा ठिक पूर्व तर्फ मन्थली नगरपालिका ६ मा हातिटार गाउँ छ । पहिले राजाका हाति बाँधेको हुनाले त्यो गाउँको नाम हातिटार रहेको भनाई पाईन्छ । हातिटारमा पछि सम्म पनि हाति बाँधेको ढुंङ्गा रहेको थियो भन्ने गरिन्छ । रजगाउँमा गाेल्मा राजाहरुले राज्य गरेकाे भनाइ पाइन्छ । 

भिमसेनको मन्दिर भन्दा तल तर्फ सडकमा एउटा बडेमानको ढुङगा छ । सेतो रङ्गको उक्त ढुङ्गा केहि तासिएको देखिन्छ । सडक निर्माण गर्दा पुरिएको उक्त ढुङ्गामा अहिले पनि स्थानीयले पुजा अर्चना गर्छन् । भिमसेनले तामाकोशी पूर्व तिर रहेका शत्रुलाई गदा हान्न घुँडा टेक्दा उक्त ढुङ्गा तछारिएको भन्ने भनाई पाईन्छ । तर यि सवै भनाईको आधिकारिक दस्तावेज भने पाईदैन् ।

रजगाउँको भिमसेन मन्दिरमा जे माग्यो त्यहि पाईने जनविश्वास पनि छ । त्यहि विश्वासका कारण धेरै टाढा देखि भक्तजनहरु भिमसेन मन्दिरमा पुजा अर्चना र भोग दिनका लागि आउने गरेको स्थानीय भक्तवहादुर माझीले वताए । माझीका अनुसार दोलखाको भिमसेन सरहनै रजगाउँको भिमसेनको मान्यता समाजमा रहेको पाईन्छ ।