रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ ।

राप्रपाका जिल्ला अध्यक्ष भरत सिं वाईवाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको राप्रपाका कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा तीनकुने घटनाको निष्पक्ष र स्वतन्त्र छानविन गर्न न्यायीक आयोग गठन हुनुपर्ने, उक्त घटनामा सम्लग्न प्रहरी प्रशासनीक नेतृत्वलाई निलम्बन गरिनुपर्ने, उक्त घटनामा मारिएकालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, झुटा मुद्धा खारेज गर्नुपर्ने र प्रहरी हिरासतमा रहेका सवैको रिहाई हुनुपर्ने समेत माग गरिएको राप्रपा रामेछापले जनाएको छ ।