टीकाप्रसाद भट्ट
रामेछाप – तामाकोशीमा पानी घटेकाले विद्युत उत्पादनमा प्रतिकुल प्रभाव परेपछि नेपाल विद्युत प्राधिकरणले दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दिउँसो विद्युत उत्पादन बन्द गरी जलासयमा पानी जम्मा गर्न थालेको छ ।
अर्धजलासययुक्त उक्त आयोजनाले साँझ ६ वजे देखि १२ बजे सम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने र त्यसपछि विहान ९ वजे सम्म घटाउदै लगेर उत्पादन बन्द गर्न थालेको हो ।
खिम्ती ग्रीड शाखाका प्रमुख मनोज साहका अनुसार बिहिबार विहान ९ बजे वन्द भएको माथिल्लो तामाकोशी आयोजना साँझ ६ वजेपछि मात्र संचालन गरिएको छ । दिनभरी जलासयमा जम्मा भएको पानी खोल्दा आयोजनाले वेलुका ७ वजे तिर ४ सय ४७ मेघावाट विद्युत उत्पादन गरी ग्रिडमा पठाइएको छ । उक्त आयोजना ४ सय ५६ मेघावाटको हो । साँझको बेलामा लोडसेडिङ हुने अवस्था आएपछि प्राधिकरणले तामाकोशी नदीको पानीलाई जलासयमा जमाएर विजुलीको अत्याधिक माग हुने साँझको समयमा मात्र आयोजना संचालन गर्न थालेको केहि दिन भइसकेको छ । त्यसो गर्दा काठमाडौंमा विजुलीको माग धान्न सकिनेमा प्राधिकरणको आशा छ ।
ग्रीड शाखामा रहेको विहिबारको तथ्यांक अनुसार विहान ६ बजे २ सय २४, ७ बजे १ सय ४९, ८ बजे १९ र ९ बजे ४८ मेघावाट विद्युत माथिल्लो तामाकोशी आयोजनाले ग्रिडमा पठाएको थियो । त्यसपछि आयोजना दिनभर बन्द गरियो । विहान विद्युतको माग बमोजिम आयोजनाले घटीबढी विजुली पठाएको हो । भारतबाट ढल्केबार सब स्टेशन मार्फत आउने विद्युत थोरै आएमा तामाकोशीको उत्पादन बढाउने र भारतबाट बढी आयो भने तामाकोशीको उत्पादन घटाउने निती अख्तियार गरिएकोले त्यस्तो भएको हो । ढल्केबर बाट २ सय २० केभि प्रशारण लाईन मार्फत आउने विजुली खिम्ती ग्रीडबाट १ सय ३२ केभि प्रशारण लाईन मार्फत बाह्रविसे सवस्टेशन तर्फ पठाउने गरीएको छ ।
अर्ध जलासय युक्त माथिल्लो तामाकोशी बाहेक खिम्ती ग्रिडमा आउने अन्य आयोजनाको विद्युत उत्पादन निराशाजनक छ । ६० मेघावाटको खिम्ती १ जलविद्युत आयोजनाले सरदर २२ देखि २६ मेघावाट विद्युत उत्पादन गरी योगदान गर्ने गरेको छ । खिम्ती खोालमा बग्दै गरेको पानी विद्युत टवाईनमा पठाएर उत्पादन गर्ने उक्त आयोजनाले २०५२ साल देखि व्यवसायीक विद्युत उत्पादन गर्दै आएको छ । पछिल्लो समय नर्बेजियन र नेपाल विद्युत प्राधिकरणको आधा आधा हिस्सेदारीमा उक्त आयोजना संचालन हुदैछ ।
खिम्तीकै पानी उपयोग गरी केहि बर्ष अघी देखि उत्पादन थालिएको माथिल्लो खिम्ती र उपल्लो खिम्तीले बर्षायाममा १९ मेघावाटको योगदान गर्ने गरेकोमा हाल उक्त आयोजनाहरुको उत्पादन साँढे २ मेघावाटमा सिमित हुन पुगेको छ ।
रामेछापको पूर्वि सिमा भएर बग्ने लिखु नदीको पानी उपयोग गरी विद्युत निकाल्ने आयोजनाको अवस्था अझ निराशाजनक छ । दुगड समूहले लिखु नदीको पानी उपयोग गरी निर्माण गरेका लिखु १, लिखु २ र लिखु ए जलविद्युत आयोजनाले बर्षायाममा कुल १ सय ६१ दशमलव ४ मेघावाट विद्युत उप्पादन गर्छन् । तर अहिले भने उक्त तीन वटै आयोजनाले जम्मा जम्मी २६ मेघावाट विद्युत उत्पादन गरे प्राधिकरणलाई योगदान गरेका छन् ।
त्यसैगरी भारतीय लगानीमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजना ५२ दशमलव ४ मेघावाट क्षमताको हो । उक्त आयोजनले हाल सरदर १२ देखि १३ मेघावाट मात्र विद्युत उत्पादन गर्ने गर्छ । त्यसैगरी २८ दशमलव १ मेघावाट क्षमताका तल्लो लिखु जलविद्युत आयोजना ( लिखु ३ ) ले यो सिजनमा सरदर ६ देखि ७ मेघावाट मात्र विद्युत उत्पादन गर्दै आएको छ ।
हिउँदयाममा बर्षा नभएको, हिमालमा हिउँ नझरेको आदि कारणले नदीमा पानीको मात्रा घटने क्रम अझै जारी छ । बर्षा लाग्न समय बाँकी रहेकोले विद्युत उत्पादनमा केहि समय यो भन्दा पनि निराशाजन अवस्था आउने आयोजना संचालकहरुले जनाएका छन् ।
