रामेछाप । पश्चिमी रामेछापको सिमान्त वस्ति लखनपुरको पुँडिमा अचेल पाखै पहेलपुर हुने गरी लटरम्म सुन्तला झुलेका छन् । रसिला र गुलियाको नाममा ख्याति कमाएका ति सुन्तलाको स्वाद जिल्लाबासी थोरैले मात्र पाउछन् । सवै सुन्तला काठमाडौंको बजार तिरै पुग्छ ।
‘मैले बर्षको १२ लाखको सुन्तला विक्री गर्छु ’ दोरम्बा शैलुङ ७ पुँडिका लालध्वज तामाङले भने । उनले पुँडिको सुन्तला जिल्लाकै नामी कहलिएको छ । त्यसैले त यहाँको सुन्तला अन्यत्रको भन्दा महंगोमा विक्री हुन्छ । पुँडिको सुन्तला प्रति केजि २ सय ५० रुपैयाँ सम्म विक्री हुने गरेको तामाङले वताए ।
पुँडिटारमा तीन पुस्ता देखिनै सुन्तला हुदै आएको छ । स्थानीय विजु जातको सुन्तलाकै विउ अहिले गाउँमा फिँजिएको हो । किसानहरुले त्यहि विजु विरुवालाई गोडमेल गरेर उत्पादन लिईरहेका छन् । ‘आखिर स्याहार न हो हाम्रोमा झण्डै ८० बर्ष पुराना बोटले पनि राम्रो उत्पादन दिइरहेको छ’ लालध्वजले गर्व गरे ।
लालध्वजको झण्डै ७० रोपनी जति पाखो जग्गा छ । उक्त सवै जग्गामा सुन्तला हुदैन् । तल वेसि र माथिको जंगल छोडेर विचको कछडमा सुन्तलाको बगैंचा हुर्काएका उनको झण्डै ३० रोपनी बारीमा लगाएका करिव ७ सय सुन्तलाका बोट अहिले पहेलपुर छन् । यो माघको पहिलो साता सम्म लखनपुरको सुन्तला डेग चलेको छैन् । केहि दिन अघी पुर्णिमामा पुँडिमा साप्ताहिक जात्रा लाग्यो, त्याहाँ अलिअलि सुन्तला विक्री भयो । स्थानीयहरुले थोरै थोरै लगे । सस्तो भाउमा गाउँमा विक्री गर्नु भन्दा अलि राम्रो भाउ लिएर काठमाडौं तिरै लैजाने दाउमा स्थानीय किसान र व्यवसायीहरु रहेका छन् ।

पुँडिटारको सुन्तला पहिले कौडीको भाउमा जान्थ्यो । दुई दिन लगाएर डोकोमा बोकेर काभ्रेको दोलालघाट पु¥याएर थोरै भाउमा विक्री गर्दा घरमा ननु तेल खान पनि धौ धौ थियो । ‘आफैले बोकेर लगेर मात्र हो, नत्र भरियालाई एक डोको सुन्तला बोकाएर पठाउदा उसैलाई ज्याला दिन पुग्दैनथ्यो ’ लालध्वज भन्छन् – अहिले सजिला दिन आएका छन्, । घरै नजिक आउने गाडिले सिधैं कालिमाटी पुर्याएर सुन्तला खसाल्छ, विक्री नहोला भन्ने चिन्ता पनि छैन् ।
लखनपुरको पुँडिको सुन्तला अलि पछ्यौटे हो । पहिले गोरखा र लमजुङ तिरको सुन्तला काठमाडौंको बजारमा आउछ् त्यो सुन्तला सकिएपछि बल्ल लखनपुरको सुन्तला काठमाडौंको बजारमा पुग्ने हो । त्यसबेला पहिलेको भन्दा भाउ पनि बढी आउछ ।
लखनपुरको पुँडिमा झण्डै ६० परिवारले सुन्तला खेति गरेका छन् । धेरै लगाउनेले ८ सय देखि १ हजार बोट सुन्तला हुर्काएका छन् । लखनपुरको स्थानीय टोलहरु दर्घा, भोर्ले, डोप्ला, कामा र थापागाउँमा पनि सुन्तलाको खेति गरिएको छ । तर पुँडिको जति राम्रो र व्यवसायीक सुन्तलाको बगैंचा अन्यत्र छैन् ।
गाउँमा लोभलाग्दो सुन्तलाको उत्पादन भएपनि त्यसलाई स्थानीय युवाहरु आकर्षित छैनन् । स्थानीय नरवहादुर तामाङ भन्छन् – विदेश जाने उत्तिकै छन् । गाउँकै माटोमा सुन फलाउने बेलामा विदेशमा पसिना चुहाउन रहर हुने युवाहरु घट्नुको साटो बढीरहेका छन् । बुढापाकाले धानेको सुन्तला बगैंचाको अव स्याहार सुसारकै लागि समस्या देखेको उनले वताए ।
पुँडिको सुन्तला खेतिका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गरेको छ । औंसा किराको प्रकोप हुन नदिन पालिकाले प्रोटिनबेट निशूल्क उपलव्ध गराएको छ । सुन्तलाको फुल खेले देखि चिचिला सम्म ५ पटक जति प्रोटिनबेट नछरे सुन्तला औंसाले बाँकी राख्दैन् । गत बर्षा अलिकति पनि औंसाको देखिएको थिएन, यो बर्ष प्रोटिनबेट छर्न केहि ढिला भएकाले थोरै सुन्तला झर्न लागेको छ, त्यो औंसाकै कारण रहेको किसानहरुको बुझाई छ ।
