टीकाप्रसाद भट्ट
रामेछाप – मंगलबार बेलुका तामाकोशीको चिसो पसेर बलवहादुर माझीले माछाको लागि टांगेको छुटा जाल बुधबार विहान रित्तै फर्किएको छ । बुधबार झिस्मिसे विहानीमा माछा सहितको जाल झिक्न उनी फेरी तामाकोशीमा पसे । ‘माछा पर्ला भन्ने आशा थियो तर परेन ’ माझीले भने – मेरो छुटा जालमा लेउ पो परेछ ।


तामाकोशीमा अचेल पानीको मात्रा घरी घरी थपघट भइरहन्छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जलासय खोल्दा नदीमा अप्रत्याशित बाढी आउने भएकाले नदीले छेउछाउका लेउ वगाएर ल्याउने गरेको छ । माझीको छुटामा हरियै लेउ टांसिएर वस्यो, माछा बसेन । झण्डै १० वटा छुटा जाल फिजाएर सुतेका स्थानीय युवाहरुले बुधबार विहान बल्ल तल्ल ३ केजि माछा जालमा अड्किएको फेला पारे ।


परम्परा देखी माछा मार्दै आएका माझीहरु उक्त कार्यलाई आफ्नो पेशा भन्नमा गर्व गर्छन् । तर पहिले पहिले जातिय रुपमा गर्विलो कहलिएको उक्त पेशा अहिले संकटमा छ । तामाकोशी र सुनकोशीमा माछा पनि संकटमा परेका छन् । दश बर्ष अघि जस्तो पानीमा खेल्ने माछाको लस्कर तामाकोशीमा छैन् । ‘पहिले केहि अवधिमानै चाहेको जति माछा मार्न सकिन्थ्यो ’ सेलेघाटका मानवहादुर माझी भन्छन् – अहिले रातभरी कोशिमा जाल राख्दा विहान रित्तो आउछ , माछा पर्दैन, लेउ पर्छ ।


जलवायुको तिव्र परिवर्तन एकातिर होला अर्का तिर विभिन्न रासायनिक पदार्थ नदिमा मिसीदा माछा नासिदै गएको अनुमान स्थानीय नवराज माझीले वताए । ‘ पहिला पहिला माछा मार्नका लागि माझीले जाल मात्र हान्थे, तर अहिले विभिन्न प्रकारका विसालु पदार्थ नदीमा हालेर माछा मार्ने अनि करेण्ट लगाउने चलनले माछानै लोप भयो ’ उनले भने । प्रहरीले कहिले कांहि करेण्ट लगाउनका लागि प्रयोग भएको व्याट्री र रड खोस्छ । सधैं प्रहरीले निगरानी गर्न पनि गाह्रो नगर्दा फेरी करेण्ट लगाईहाल्छन् । करेन्टले माछा मार्न खोज्दा मान्छे मरेका छन् तापनि त्यो काम छोड्दैनन् ।


माझीको घरमा पहिले माछा टुट्दैनथ्यो । माछा र माझी एक अर्काको पर्याय जस्तै थिए । माझीको घरमा अरु केहि भएन भने पनि माछा हुन्थ्यो । नबराज भन्छन् – अहिले माझी आफैले माछा खान धौ धौ छ । कयौंका घरमा महिनौ सम्म पनि माछा पस्दैन , हुदैन् । ‘ दिन रातको मेहेनतले थोरै माछा मार्ने माझीहरु पैसाको लोभमा त्यै पनि विक्री गर्ने गर्छन्, त्यसैले माझीले माछाको स्वादनै विर्सीसके ’उनले हास्दै भने ।


तामाकोशीको जति माछाको अभाव छ, त्यतिनै माछाको भाउ समेत उकालिएको छ । अहिले तामाकोशीका माछा प्रति केजि १ हजार २ सय रुपैयामा खरिद विक्री हुने गरेको छ । लोकल माछा खोजि गर्ने ग्राहक विहानै नदी किनारमा पुग्छन् । वजारको चिन्ता छैन् । काब्रे, असला , कत्ले लगाएतका माछाको बेग्ला बेग्लै भाउ भने छैन । सवै एकै भाउमा विक्री हुन्छन् । ‘माछा परिदिए त माझीलाई अर्को पेशा गरीरहनु पर्दैनथ्यो ’ बलवहादुर माझी भन्छन् – आजकै जस्तो जाल रित्तो वस्यो भने के खानु ? ।


माछा सकिन थालेपछि रामेछापको तामाकोशी र सुनकोशी किनारमा वसोवास गर्ने माझीले वैकल्पिक पेशा अगाल्न थालेका छन् । कोहिले गाडि चलाउछन्, कोहि सेना प्रहरीमा पुगेका छन् । सेलेघाटकै सुशिल माझीले भन्छन् – हाम्रो गाउँतिर बाट विदेशमा कमाउन जाने पनि उत्तिकै छन् ।